ट्रेन्डीङ्ग

राजसंस्था पुनः स्थापनाको लागि साझा रणनीति अनिवार्य

सुनवल।नेपालमा राजसंस्था पुनःस्थापनाको आन्दोलन फेरि सक्रिय बन्दै जाँदा यसको नेतृत्व,उद्देश्य र रणनीतिका विषयमा विभिन्न समूहहरूबीच असहमति देखिएको छ।आन्दोलनलाई सशक्त बनाउनका लागि एकता अपरिहार्य भए पनि हाल विभिन्न गुटबन्दी र आपसी मतभेदका कारण यसले गति लिन सकेको छैन।

राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका विभिन्न समूहहरू आ-आफ्नो नेतृत्व स्थापित गर्न चाहन्छन। कोही पुराना राजावादीहरू अगाडि आउन खोजिरहेका छन भने कोही नयाँ पुस्ताका अभियानकर्ताहरू नेतृत्व गर्न चाहन्छन। यसले गर्दा एउटै आन्दोलन भित्र नै गुटबन्दी देखिन थालेको छ।

केही समूहहरू पूर्ण राजसंस्था (पूर्ण राजतन्त्र) को पक्षमा छन,भने केहीले संवैधानिक राजसंस्था मात्र चाहन्छन। यी दुई धारबीचको भिन्नताले आन्दोलनलाई एकीकृत हुन कठिन बनाइरहेको छ।राजसंस्थाको पक्षमा आवाज उठाउने समूहहरूबीच प्रमुख विवाद नेतृत्व कसले गर्ने भन्ने विषयमा देखिन्छ। पुराना राजावादीहरू आफ्नो अनुभवका आधारमा अगाडि आउन चाहन्छन् भने नयाँ पुस्ताका अभियानकर्ताहरूले नयाँ सोच र शैलीले आन्दोलनलाई अघि बढाउनुपर्ने तर्क गरिरहेका छन। यसले गर्दा एकीकृत रणनीति तय गर्न कठिन भइरहेको छ।

राजसंस्थाको स्वरूपको विषयमा पनि स्पष्ट मत एक्यवद्धता नदेखिनु अर्को चुनौती हो। कतिपय पूर्ण राजसंस्था चाहन्छन्, भने केही संवैधानिक राजसंस्थाको पक्षमा छन। यस विषयमा खुलेर छलफल हुनुपर्नेमा आरोप-प्रत्यारोप बढ्दा आन्दोलन भित्रै ध्रुवीकरण भइरहेको छ।

व्यक्तिगत अहंकार र स्वार्थका कारण पनि एकता कायम हुन नसकेको देखिन्छ। नेतृत्वदाबी, पहिचान स्थापित गर्ने होड र पारस्परिक असहिष्णुताले आन्दोलनलाई कमजोर बनाइरहेको छ। यदि सचेत नेताहरूले सहकार्य र परस्पर सम्मानलाई प्राथमिकता दिएनन् भने आन्दोलनको प्रभावकारिता खस्कँदै जानेछ।

राजसंस्थालाई पुनःस्थापना गर्नका लागि अहिले आन्दोलनहरू उठिरहेका छन्। तर, ती आन्दोलनहरू संगठित र उद्देश्यपूर्ण हुन नसक्दा विवादमा आइरहेका छन्। विभिन्न समूहहरूले आ-आफ्नै एजेन्डा अघि सार्न खोज्दा एकता कायम हुन सकेको छैन। यदि आन्दोलनलाई सफल बनाउने हो भने सबै पक्षले मिलेर साझा रणनीति बनाउनु आवश्यक छ। आपसी संवाद, नेतृत्वमा पारदर्शिता, र दीर्घकालीन सोच राखेर अघि बढ्न सके मात्र राजसंस्थाको पुनःस्थापना सम्भव हुनेछ।

एकता कायम गर्नका लागि पहिलो आवश्यक कुरा आपसी संवाद हो। यदि सबै पक्षहरूले खुलेर छलफल गरी साझा रणनीति बनाउन सके, नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न सके र मुख्य उद्देश्यलाई प्राथमिकतामा राखे भने मात्रै आन्दोलनले सार्थक दिशा लिन सक्छ। अन्यथा, गुटबन्दी र असहमतिका कारण यो आन्दोलन बलियो हुनुअघि नै कमजोर बन्ने खतरा छ।

लेखक:राप्रपा नेपालका केन्द्रिय सदस्य केशब राज खनाल हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?