
सुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा सोमबार दिउँसो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार पुलदेखि तल खोलामा खस्दा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार दिउँसो करिब १ बजे भएको दुर्घटनामा अर्घाखाँची धातिवाङ–८ बस्ने मणिराम पौडेलको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा रहेका पौडेलको पृथ्वीचन्द्र अस्पताल परासी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा कार चालक तथा मृतकका छोरा हरिशचन्द्र पौडेल सामान्य घाइते भएका छन्। उनीहरू अर्घाखाँचीबाट काठमाडौंतर्फ जाँदै गरेका थिए।
घटनास्थलको प्रारम्भिक प्रकृति हेर्दा अत्यधिक गतिका कारण कार अनियन्त्रित भई पुलदेखि तल खोलामा खसेको हुनसक्ने इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।











