ट्रेन्डीङ्ग

राष्ट्रको पुनर्जागरण र राप्रपाको ऐतिहासिक जिम्मेवारी

आजको नेपाल दिशाविहीनताको चपेटामा छ। संविधानले अपेक्षित स्थायित्व दिन सकेन, लोकतन्त्रले जनताको जीवनस्तर उकास्न सकेन र देशभित्र राष्ट्रियता भन्दा स्वार्थको राजनीति हावी हुँदै गएको अनुभूति आम नेपालीले गरिरहेका छन।

राज्य संयन्त्र जनताको विश्वास गुमाउँदैछ र यस्तो अवस्थामा अब राष्ट्रका लागि निष्ठावान् शक्तिहरूको एकजुटता अनिवार्य बनेको छ। यो परिस्थितिमा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मात्र त्यस्तो दल हो जसले मुलुकको मौलिक पहिचान, परम्परा, धर्म, संस्कृति, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षार्थ स्पष्ट र निर्भीक धारणा लिएको छ। राजसंस्थाको पुनःस्थापना, हिन्दुराष्ट्रको पुनरुत्थान, र सार्वभौम राष्ट्रको पुनरुत्थान राप्रपाको मूल एजेन्डा हो। अब यी विचारहरूलाई केवल नाराका रूपमा होइन, राष्ट्रको पुनर्निर्माणको आधारशिला बनाउने बेला आएको छ।

देशभक्त, राष्ट्रप्रेम, र वैकल्पिक व्यवस्थाको चाहना राख्ने सम्पूर्ण नेपालीको नजर अहिले राप्रपातर्फ उन्मुख छ। अब राप्रपाको कर्तव्य छ-देशभित्र छरिएर रहेका सम्पूर्ण राजावादी, राष्ट्रवादी, धार्मिक र सांस्कृतिक संवेदनशीलतामा आस्था राख्ने शक्तिहरूलाई एउटै छातामुनि गोलबद्ध गर्नु। जनताको यो भरोसालाई नेतृत्वमा परिणत गर्दै ऐतिहासिक आन्दोलनको रूप दिन सक्नुपर्छ। यो केवल दलगत आन्दोलन होइन-यो नेपाल आमाको सन्तानहरू एक ठाउँमा उभिएर राष्ट्रको माटोको रक्षाका लागि उठेको आवाज हो। यो आवाज काठमाडौंको सडकबाट उठेर गाउँ, गाउँ, टोल टोल, हरेक नेपालीको घरदैलो पुग्नुपर्छ। आज हामीले विगतका कमजोरीहरू सुधार्दै, नयाँ ढङ्ग, नयाँ सोच र नयाँ ऊर्जा लिएर अगाडि बढ्नुपर्छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अब केवल एउटा पार्टीका नेता होइनन्-उनी सम्पूर्ण राष्ट्रवादी आन्दोलनको मेरुदण्ड बन्ने जिम्मेवारीमा पुगेका छन्। उहाँको दृष्टिकोण स्पष्ट, बोली संयमित, तर सन्देश गम्भीर र सशक्त हुनुपर्छ। जनतामा निराशा होइन, आशा र विश्वासको ज्योति फैलाउने नेताको खाँचो अहिलेको यथार्थ हो।

यदि अहिले पनि आन्दोलनलाई आवश्यक गम्भीरता, सङ्गठन र समर्पणका साथ अघि बढाइएन भने, यसको नै औचित्यमाथि प्रश्न उठ्नेछ। जनताले भन्न थाल्नेछन् राप्रपा पनि अरुजस्तै भाषण गर्ने, संकल्प नगर्ने, र जिम्मेवारीबाट भाग्ने पार्टी हो। त्यो दिन आयो भने केवल आन्दोलन मात्र होइन, राष्ट्रवादी राजनीति नै गम्भीर संकटमा पर्न सक्छ।

अबको आन्दोलन वैचारिक पनि हुनुपर्छ, व्यवहारिक पनि। यसमा युवाको जोश, वृद्धको अनुभव, महिला र अल्पसंख्यकको प्रतिनिधित्व, किसान र मजदुरको आवाज, र आम नेपालीको सपना प्रतिबिम्बित हुनुपर्छ। एकता, समर्पण र संघर्ष नै अबको मन्त्र हुनुपर्छ। आज हामीलाई साहस चाहिएको छ—सही कुरा बोल्न, सहिन सक्ने क्षमता बनाउने, र आत्मसम्मानको रक्षा गर्ने। हामी एकजुट भयौं भने न त इतिहासले हामीलाई बिर्सन्छ, न त भविष्यले धोका दिन्छ।

अबको आन्दोलन–नेपालको लागि, नेपालीको लागि, र भविष्यको लागि। राष्ट्रको झण्डा मात्र होइन, राष्ट्रको आत्मा बोकेर अघि बढ्ने बेला यही हो। (लेखक केशबराज खानाल राप्रपाका केन्द्रीय सदस्य हुन।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal