ट्रेन्डीङ्ग

स्वतन्त्र उम्मेदवार जिताउने विषय

पाल्पा।भर्खर स्थानीय चुनाव सकिएको छ भने संघ र प्रदेशको चुनावको मिति समेत घोषणा भइसकेको छ।राजनीतिक दलका शिर्ष नेतृत्वहरुमा कसरी हुन्छ गठबन्धन गरेर चुनाव जित्ने प्रयास जारी छ भने यसको बिपरित जनता राजनीतिक रुपमा स्वतन्त्रताको आवाज गुन्जाइरहेका छन।

विषय यहाँ के छ भने कांग्रेससहितको एउटा सत्ता गठबन्धन छ भने अर्को एमाले सत्ता बाहिर गठबन्धनको बिरोध जनाएको जस्तो गरेको भएपनि भित्रभित्रै आफै सत्ता बाहिरका अन्य दलसँग गठबन्धनको प्रयास गरिरहेको छ।स्थानीय चुनावमा आफैं विभिन्न दलसँग विभिन्न ठाउँमा गठबन्धन गरेको दलले गठबन्धन भन्दै अर्कोलाई गाली गरेर आफू चोखो बन्न खोज्नुले बताउँछ कि दलहरुको बोली र व्यवहारमा कतिसम्म मेल खान्छ भनेर।हुन त आफ्नो एजेन्डा बिर्सेर सत्ताका लागि जुनसुकै दलसँग घाँटी जोड्न पुग्ने र जनतालाई झुटो आश्वासन दिएर सत्तामा पुगेपछि जनभावना कुल्चिने दल र तिनका नेताको बारेमा लेखेर, बोलेर समय खर्चिनु बेकार छ तसर्थ विषयतिरै प्रवेश गरौँ।

प्रतिपक्ष दलका प्रमुख नेताले एउटा कार्यक्रममा भने स्वतन्त्र विजयी उम्मेदवारले केही परिवर्तन गर्न सक्दैन।विद्रोही पार्टीका एउटा नेताले एउटा कोठाको भेलालाई धेरै ठुलो सङ्ख्या देखेर यसो भन्न भ्याए,-“स्वतन्त्र विजयी उम्मेदवार भनेका भदौका च्याउ जस्तै हुन,जो बेलाबखत उम्रन्छ र हराउँछ।” केही पुर्व प्रधानमन्त्रीहरुले समेत स्वतन्त्र उम्मेदवारको आलोचना नगरेका होइनन।आफुलाइ सेलिब्रेटि हुँ भन्ने सोच राख्ने र अरुको देखावटी र लहलहैमा इच्छा राखेर कोही उम्मेदवार उठ्दैमा उसले समाजलाई परिवर्तन गर्न सक्दैन नै;न त नेतृत्व नै गर्न सक्छ।

मानिस जन्म लिइसकेपछि उ समाजको हरेक बन्धनहरुमा जेलिएको हुन्छ तसर्थ उ स्वतन्त्र रहन सक्दैन भनिन्छ,यो लेखको ब्याख्याले स्वतन्त्र शब्दको परिभाषा दिन नसक्ला तर पछिल्लो समय राजनीतिमा हुर्किराखेको ‘स्वतन्त्र’ र राजनीतिक दलले यसको विषयमा गरेको ब्याख्याको सन्दर्भमा यो लेख लेखिएको छ र यसले राजनीतिक बिषयलाई केन्द्रबिन्दुमा राखेको छ।

“स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो।कुनै पनि स्वतन्त्र देशको विद्यमान नियम कानुन बमोजिम कुनै व्यक्ति,समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन। अर्थात स्वतन्त्र देश,राष्ट्र वा राज्यका सदस्यहरू स्वशासनद्वारा शासित हुने गर्छन्।स्वतन्त्रताको विभिन्न किसिम र स्वरूप हुने गरेको छ।” – विकिपिडिया

बुझ्नुपर्ने कुरा के छ भने समाजको नेतृत्व गर्नको लागि उठेको उम्मेदवार पक्कै राजनितीक विषयमा अपरिपक्व हुँदैन। पार्टीले टिकट दिँदा बरु प्रचारप्रसार खर्च, भबितब्य लगायतका विषयमा पार्टी र पार्टी समर्थीत सदस्यको सहयोगले एउटा मुर्तिको पनि जयजयकार हुन पुग्छ अर्थात क्षमता नभइ नभई पनि शक्तिशाली कहलिन्छ। तर स्वतन्त्र उम्मेदवारका लागि हरेक कुरामा ठुला-ठुला चुनौती सिर्जना हुन्छन् र त्यसमा एक्लै भिड्नुपर्ने हुन्छ। तसर्थ स्वतन्त्र उम्मेदवार उठ्ने विषय राजनितीक दलले अत्यन्तै हल्का बनाएर गर्ने गरेको खिसिट्याउ बिषय नभएर अत्यन्त गम्भीर र वजनदार विषय हो।

अर्को संगठन के का लागि र किन चाहिन्छ भन्ने एउटा महत्त्वपूर्ण विषय हो। संगठन वा संस्थाको बिषयमा जतिसुकै कुरा लम्बाए पनि दुई वा दुइभन्दा बढीको संचार नै पहिलो महत्त्वपूर्ण पक्ष हो।आजको समाज स्मार्ट र डिजिटल प्रविधियुक्त समाज हो। गहिराइमा बुझ्ने हो भने संचारले संगठनलाई भत्काइ रहेको अवस्था हो। एउटा स्टाटसको भरमा संगठन बिना हजारौं लाखौँ मानिसहरूलाई जम्मा गर्न सकिने अवस्थामा समाज पुगिसकेको छ यो विषयका उदाहरण सिर्जनसिल हुनेले आफैं पनि महशुस गर्न सक्छ यति हो कि कुन घटनामा कुन विषयलाई कसरी उठाउने भन्नेमा यो कुरा निर्भर रहन्छ।

आजकाल राजनीतिक पार्टीमा जतिसुकै रंगिचंगि फुलबुट्टा भरेर स्टाटस र फोटा हाले पनि दलभित्र चाप्लुसि,दासत्व र टिके प्रथा हुर्किरहेको छ। निर्धारित समयमा बैठकहरु बस्न सक्दैनन्,न त नेतृत्वले कार्यकर्ताको भावना र रिपोर्टिङको सहि मूल्यांकन नै गर्छ।संघर्षको लागि अरुका छोराछोरी र सत्ताका लागि आफ्ना छोराछोरी हुल्ने नियतमा कुनै राजनीतिक दल अछुत छैनन। जतिसुकै पार्टीको लागि पसिना बगाए पनि आखिर उचित ठाउँमा पुगिने त आवश्यकताले नै हो। राजनीतिक दलहरु नसच्चीने अनि अपजस चाहिँ स्वतन्त्र भन्नेहरुलाई दिन पाइन्छ ?

नेपाली समाजको पछिल्लो बिशेषता वर्णन गर्ने हो भने ०.९३ प्रतिशत जनसंख्या वृद्धि हुँदा २५ प्रतिशतले घरपरिवारको सङ्ख्या बढेको देखाउँछ। यसले के जनाउँछ भने मानिस ठूलो परिवारमा होइन सानो सानो परिवारमा स्वतन्त्रता पुर्वक दुख-सुख गरेर रमाउन चाहन्छ । हिजो सामुहिक रुपमा बसेर हेरिने टिभि अहिले प्रत्येक हातहातमा एन्ड्राइड मोबाइल पुगेको छ।हिजोको जस्तो सामुहिक छलफल,बहस भौतिक रुपमा हुने वातावरण कम भएको छ। अर्को कुरा मानिस बेरोजगार भएपनि उ फुर्सदिलो छैन।

आफ्ना बिचार,भावना,एजेन्डाहरु अहिले प्रविधि मार्फत एक ठाउँबाट चारैतिर प्रवाह गर्न सकिन्छ।राजनैतिक प्रशिक्षण गर्नुका साथै संगठित या विचार प्रवाह गरि बहुसंख्यक नागरिकको प्रतिनिधित्व र बिश्वासिलो भए जनताले प्रतिनिधिको रुपमा चुनेर बिजय बनाउन पनि सक्छन। चुनाव अगाडि पाउ पर्ने, पार्टी शक्तिको आडमा दलाबला सहित घरदैलो गर्ने तर जितिसकेपछि जनताको बिश्वास जित्न नसक्ने,पार्टीको कार्यक्रम बाहेक अन्त मुख नदेखाउने, आफैं निर्णय गर्न नसक्ने जनता सँग बहस र छलफलबाट लुकि पार्टीको कुरा शिरोपण गर्दै लुकेर हिँड्ने,अपारदर्शी व्यवहार र कार्यशैली तथा एउटा कोठामा बसेर निर्णय गर्ने पार्टीका प्रतिनिधि वास्तवमा समाजबाट स्वतन्त्र हुन या जनतासँगै रमाउने हर्क,बालेन,गोपालहरु असली जनताका प्रतिनिधि हुन पार्टीको झोला बोकेर आलोचना गर्नेले सोचुन। गल्ती हुँदा समेत ढाकछोप गर्न अघिसर्ने पार्टी र उनका कार्यकर्तालाई चुन्ने कि गरेको गल्तीमा कसैले साथ दिन नसक्ने स्वतन्त्र उम्मेदवारलाई प्रतिनिधिको रुपमा चुन्ने ?

बालेन,गोपाल,हर्कहरुमा जनप्रतिनिधिमा हुनुपर्ने गुण हुन सक्ला या नसक्ला या उनिहरुले आफ्नो भूमिका निर्वाह गर्न सके वा सकेनन् त्यो आफ्नो ठाउँमा छँदैछ तर जनतालाई प्रतिनिधि छान्ने कुरामा केही सन्देश भने पक्कै दिएका छन। एक दुई जना स्वतन्त्र पुगेर के हुन्छ?भन्ने विषयमा केहीले तर्क गर्छन् ठिक छ;एक दुईजना पुग्नेले जनताको कुरा संसदबाट बोलिदिए पनि पक्कै त्यसले घाटा होइन फाइदा नै हुन्छ तर नयाँ अनुहार छान्न किन पछि हट्ने अनि जनतालाई साथमा लिएर बिकास गर्ने प्रतिनिधि कसरी केही गर्न नसक्ने स्वतन्त्र बन्न सक्छ ? यो हो कि उम्मेदवारी नेतृत्वकर्ता दुरदृष्टि र समाजको आवश्यकता,परिवेश,जनताको भावना,सांगठनिक कला र परिचालन गर्न सक्ने तथा पक्षपात रहित तरिकाले सामाजिक न्यायको अनुसरण गर्न सक्ने र सिर्जनसिल पक्कै पनि हुनुपर्छ। तसर्थ उम्मेदवार पार्टीका हुन बाहिरका स्वतन्त्र ढंगले विश्लेषण गरौँ र चुनौँ।लेखक:श्रीराम स्वरुप

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?