तोलाकान्त बगाले वालिङ, २९ बैशाख ।
वालिङ स्थित गह्रौं प्राथमिक अस्पताललाई स्थानिय सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् ।
विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आईसोलेसन कक्षका लागि शैया हस्तान्तरण गरेका हुन् ।
‘एक संस्था एक शैया’ हस्तान्तरण अभियान अन्तर्गत यहाँका १८ सहकारी तथा संघ संस्थाद्वारा सामूहिक रुपमा अस्पताललाई १८ शैया हस्तान्तरण गरेका हुन् ।
महामारीकोरुपमा फैलिएको कोभिडको रोकथामका लागि नगरपालिकाले जनस्वास्थ्य विपद अवस्थाको घोषणा गरी नियन्त्रणलाई अगाडि बढाईरहेका बेला विभिन्न संघ संस्था तथा सहकारीहरुद्वारा प्राप्त सहयोगप्रति आभार ब्यक्त गर्नुभयो ।
“कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले आईसोलेसन कक्ष निर्माण गरिरहेको हँुदा ईच्छुक संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोगका लागि आब्हान गर्यौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले गरेको आब्हानलाई स्वीकार गर्दै वालिङस्थित सहकारीहरु तथा संघ संस्थाहरुद्वारा आधुनिक शैया उपलब्ध गराउनुभएको छ ।”
सहकारी तथा संघ संस्थाहरुले उपलब्ध गराउनुभएको शैयाहरुको सही सदुपयोग गर्दै सङ्क्रमितहरुको उपचार कक्षमा प्रयोग गर्ने उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
उहाँले अस्पतालमा आईसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुहुँदै सङ्क्रमितको अवस्था हेरी अन्य स्थानहरुमा पनि आईसोलेसन कक्ष सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
सङ्क्रमणका बेला सहकारीहरुले यहाँका नागरिकहरुको जीवनरक्षाका लागि सहयोग पुगोस् भन्ने हेतुले अस्पताललाई शैया उपलब्ध गराएको समन्वयकारी भूमिका खेल्नुभएका जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डेले बताउनुभयो ।
“सहकारीहरुले विपदका समयमा मानवीयतालाई अगाडि सारेर अग्रपंक्तिमा रहेर काम गर्नुपर्छ भन्ने मान्यताले समन्वय र सहकार्य गर्यौं” पाण्डेले भन्नुभयो, “ईच्छुक सहकारीहरुबीच छलफल गर्यौं र शैया उपलब्ध गराउने निणर्य गरी हस्तान्तरण गरेका हौं ।”