
परासी।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा माघ २५ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।जिल्लामा २८ गतेसम्म संचालन हुने अभियानमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीहरूलाई खोप लगाइने भएको हो।
एचपीभी खोप अभियानबारे आयोजित जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा जानकारी दिँदै स्वास्थ्य कार्यालय परासीका वरिष्ठ खोप अधिकृत भेषराज शर्माले कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी अभियान सञ्चालन गरिने बताए।
जिल्लाभरका सामुदायिक तथा संस्थागत गरी २ सय ४ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिनेछ। यसका अतिरिक्त २ वटा बाहिरका खोप केन्द्रमार्फत पनि सेवा प्रदान गरिने जनाइएको छ।स्वास्थ्य कार्यालयका अनुसार विद्यालय बाहिर रहेका करिब २ सय जना किशोरीहरूलाई पनि खोपको पहुँचमा ल्याइनेछ।
स्वास्थ्य कार्यालय प्रमुख अगदबहादुर शाहीका अनुसार विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपबाट वञ्चित हुन नदिने विशेष योजना बनाइएको छ।
किशोरीहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी मानिन्छ। यही कारण यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
वरिष्ठ खोप अधिकृत शर्मा अनुसार नेपालमा हरेक वर्ष करिब १ हजार ३ सय ९३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक छ। त्यसैले समयमै खोप लगाउनु अत्यन्त आवश्यक रहेको उनले बताए।
जिल्ला खोप समन्वय समिति एवं जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल लगायतले आ-आफ्नो क्षेत्रबाट अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै योग्य किशोरीहरू कोही पनि खोपबाट वञ्चित नहुने विश्वास व्यक्त गरे।











