ट्रेन्डीङ्ग

श्वासप्रश्वासमा देखिएको समस्या समाधानका लागि जलनेती:डा.यन्जन

नवलपरासी ।
प्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि छ वटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो जलनेती । यस क्रियामा एक जलनेती गर्ने भाँडा वा करुवाद्वारा नाकको एक प्वालबाट शुद्ध मनतातो, नुनिलो पानी प्रवेश गराई अर्को प्वालबाट झार्ने गरिन्छ । जसले गर्दा नाकभित्रको फोहोरको पूर्णरुपमा शुद्धिकरण हुने गर्दछ । यस विधिलाई नै जलनेती भनिन्छ ।

जलनेती गर्ने विधिहरु

जलनेती पट वा जलनेतीका लागि बनेको करुवा आकारको ५०० मिलिदेखि ६०० मिलिसम्म पानी अटाउने भाँडो लिने ।

आवश्यकताअनुसार दुई वा साढे दुई लिटर मनतातो पानीमा एक–दुई चम्चा नुन मिलाई मन्द नुनिलो बनाउने । मनतातो, नुनिलो पानीलाई जलनेती गर्ने भाँडामा राख्ने अनि बिस्तारै नाकको बाँया प्वालमा जलनेतीको भाँडाको टुटी जोड्ने र टाउकोलाई विस्तारी दाहिनेतिर झुकाउने ।

अनिनाकको प्वालमा बिस्तारै भाँडोको माध्यमबाट पानीको प्रवाह नाकको प्वालमा पठाउने । नाकको बाँया प्वालबाट पानी पठाउँदा दायाँ प्वालबाट पानी निस्काशन हुन्छ र दायाँबाट पठाउँदा बाँयाबाट निश्काशन हुन्छ ।

यो प्रक्रिया तीन–चार पटक दोहोर्याउने । यसरी नाकबाट पानी पठाउँदा श्वासप्रश्वास मुखबाट गर्नुपर्दछ ।

जलनेतीको विधि गरिसकेपछि नाकभित्रको फोहोर र जम्मा भएको पानीलाई फ्याँकी नाकलाई सुख्खा गराउनुपर्दछ । सोको लागि थोरै अगाडि झुकेर दुबै कान बन्द गरी टाउकोलाई दायाँ–बाँया, तल–माथि गरी जोडजोडसँग नाकद्वारा श्वास फाल्नु पर्दछ, केही समय (एक, दुई मिनेट) ।

जलनेतीका फाइदाहरु

लामो समयदेखि भइरहेको रुघा, खोकी, नाकबन्द हुने, गन्ध थाहा नपाउने एवम् पिनास, टाउको दुखाई, माइग्रेनजस्ता रोग र समस्या निराकरणका लागि फाइदाजनक रहने छ ।

तनाव, अनिद्रा, एकाग्रतामा कमी, डिप्रेसनजस्ता मानसिक रोगहरुमा जलनेतीले समस्याको समाधान गर्नेछ । धुँवा,धुलोबाट हुने एलर्जीमा महत्वपूर्ण क्रिया नै जलनेती हो ।

नियमित जलनेती गर्नाले श्वासप्रश्वाससम्बन्धी समस्याको निराकरण गर्न सहयोग पु¥याउँछ । नाकभित्र रहने फोहोर र धुलो, धुँवाबाट प्रवेश गरेका कीटाणुहरुको सफाइ गरी नाकको शुद्धिकरणको एक उच्चतमउपाय हो जलनेती ।

जलनेती गर्दा अपनाउनुपर्ने सावधानी

नाकबाट पानी राख्दा मुखबाट श्वासप्रश्वास गर्नुपर्ने हुन्छ । यदि नाकबाट नै गर्न थालियो भने पानी फोक्सोतर्फ जानसक्ने र दुर्घटना हुन सक्छ ।नाकबाट पूर्णरुपमा पानी निस्किएन र साइनेसमै रह्यो भने इन्फेक्सन बढ्नसक्छ । र जटिल समस्या हुनसक्छ । नाक सुख्खा राख्नका लागि अन्तिममा जोडजोडले श्वासप्रश्वास गर्दा यदि कान बन्द गरिएन भने कानसम्बन्धी समस्या आउन सक्छ । साथै उच्च रक्तचाप, मुटुरोग, कानको इन्फेक्सन, नाकबाट रगत बग्ने समस्या र नाक पूर्ण रुपमा बन्द भएका विरामीले पूर्णरुपमा सावधानी अपनाउनु पर्दछ ।

अन्ततः

जलनेती नाकको सरल शुद्धिकरण क्रिया भएतापनि यो क्रिया गर्नुपरेमा योग तथा प्राकृतिक चिकित्सक वा योग थेरापिष्टको पूर्ण निगरानिमा मात्र गर्नुपर्ने हुन्छ । यो विधि योग तथा प्राकृतिक अस्पतालहरुमा डाक्टरको निगरानीमा गराइने हुँदा सुरुको बेलामा चिकित्सकको सल्लाह र सुझाव लिएर मात्र गर्नु हुन अनुरोध गर्दछु । जलनेती गर्दा शुद्ध पानी हुनुपर्दछ । यदि फोहोर पानी भएमा इन्फेक्सन बढ्ने गर्दछ र जलनेतीमा प्रयोग गर्ने भाँडा र पानीको तापक्रम राम्रो र उपयुक्त हुनुपर्दछ ।

(डा.यन्जन गैह्रे हिमालयन योगा तथा प्रकृतिक अस्पताल र काठमाडौँ नेचुरोपेथि अस्पतालका निर्देशक हुनुका साथै योग तथा प्रकृतिक चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष हुन् ।) भिडियो: https://youtu.be/v-0Na0-QgFg

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?