ट्रेन्डीङ्ग

वालिङमा दिशाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनको तयारीमा

तोलाकान्त बगाले
वालिङ, ६ चैत ।

दिशाजन्य लेदो ब्यवस्थापन चुनौतिकोरुपमा रहेको अवस्थामा स्याङ्जाको वालिङ नगरपालिका प्लान्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट भई पटक पटक पुरस्कृत भईसकेको वालिङले फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा उदाहरणीय कार्य गरेसँगै दिशाजन्य लेदो ब्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनको अन्तिम तयारीमा रहेको हो ।

घरघरमा सेटी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आँफू खुशी फाल्ने गरेका कारण ढल तथा खोलानाला पानीका स्रोतहरु प्रदुषित हुन गएकाले त्यसको उचित ब्यवस्थापनका लागि प्लान्ट निर्माण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“अहिले घरघरमा निर्माण भएका सेटी ट्याङ्कीहरु दिशाजन्य लेदो भण्डारण गर्ने ट्याङ्कीमात्रै हुन्” नगर प्रमुख खाँणले भन्नुभयो, “भरिएपछि अन्यत्रै लगेर फाल्नुपर्ने अवस्थाको अन्त्य गरी अब नगरपालिकाले बनाएको प्लान्टमा ब्यवस्थापन गरी बायोग्याँस तथा कम्पोष्ट मल बनाउने छौं ।”

नगरभित्रका खानेपानी तथा अन्य खोला नदीका पानीका स्रोतहरुमा कोलिफर्म’ अत्याधिक मात्रामा देखापरेको जसले गर्दा पानी प्रदुषित भई अनेक खालका महामारीजन्य रोगहरु उत्पन्न हुन सक्ने भएकाले जनस्वास्थ्यलाई मध्यनजर गरी प्लान्ट निर्माण गरिएको उहाँले बताउनुभयो ।

दिशाजन्य लेदो ब्यवस्थापनका लागि वालिङ नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाईन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहोर ब्यवस्थापन कार्यक्रम अन्तर्गत निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

“प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्याँस निकाल्ने र पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने योजनासहित अगाडि बढेका छौं” उहाँले भन्नुभयो, “अब छिट्टै सञ्चालनमा आउने यो प्लान्ट एकीकृत फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।”

देशका शहरोन्मुख क्षेत्र तथा ठूला शहरहरुमा फोहोरमैला ब्यवस्थापन अहिले चुनौतिकोरुपमा देखा परिरहेको छ । फोहोरमैला ब्यवस्थापन चुनौतिकारुपमा देखा परिरहेका बेला वालिङ नगरपालिकाले फोहोरमैला बिक्रीबाट वार्षिक लाखौं आम्दानी गर्दै आईरहेको छ ।

“सबै बस्तु एकै ठाउँमा मिसायौं भने फोहोर हुन्” उहाँले भन्नुभयो, “स्रोतमै बस्तु अलग अलग गर्‍यौं भने त्यो फोहोर नभई आम्दानीको स्रोत हो ।”
दिशापिसाबको ब्यवस्थित संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाई प्रणाली हो । यो प्रणाली अन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका छन् ।

वालिङ नगरपालिकाले फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न संघ संस्थाहरुबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

घरघरमा निर्माण भएका सेटी ट्याङ्की तथा खाल्डोहरु भरिएपछि खाली जमीन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिंदै आएकोमा अब प्लान्ट सञ्चालनमा आएपछि ब्यवस्थित हुने प्राविधिक सहयोग गर्दै आएको वातावरण जनस्वास्थ्य संस्था (एन्फो) का परियोजना संयोजक बुद्ध बज्राचार्यले बताउनुभयो ।

नेपाल नगरपालिका संघको सहयोगमा वालिङ नगरपालिकासहित लहान, धुलीखेल, लमही र भीमदत्त नगरपालिकामा यसप्रकारको प्लान्ट निर्माण हुने भएको हो ।

“छ हजार लिटर क्षमताको प्लान्ट निर्माणको अन्तिम चरणमा छ” परियोजना संयोजक बज्राचार्यले भन्नुभयो, “प्लान्टबाट निस्कने बायोग्याँस, कम्पोष्ट मल तथा पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिनेछ ।”

दिशाजन्य लेदोसँगै नगरपालिकाले बजारबाट दैनिक संकलन गर्ने कुहिने फोहोरलाई पनि मिसाएर प्लान्टबाट प्रशोधनपश्चात आवश्यक अन्य बस्तुहरुको संयोजन गरी प्याकेजिङ गर्न सकिने उहाँले बताउनुभयो ।

निजी केही ब्यवसायीले दिशाजन्य लेदो ब्यवस्थापनमा काम गर्दै आएपनि अब प्लान्ट निर्माणसँगै नगरबासीलाई थप सहज र सस्तो पर्ने भएपछि स्थानीय खुशी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal