ट्रेन्डीङ्ग

कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने अभियान बुटवलमा प्रभावकारी बन्दै

साउन ३० बुटवल। कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय बनाउने अभियान बुटवलमा प्रभावकारी बन्दै गएको पाईएको छ । बुटवलमा गरिएको कोभिड बिरुद्धको खोपको बिबरण बिद्युतीय गर्ने कार्यको अभिमुखीकरण कार्यक्रममा अवसरमा अभियान सफल हुँदै गएको जानकारी गराईएको हो । बुटवल उपमहानगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र विश्व स्वास्थ्य संगठनको सहयोगमा कोभिड खोपका लागि अनलाइन फारम दर्ता अभियान यस अघिबाट शुरु भईसकेको छ । नामदर्ता पछि खोप लगाउने ब्यक्तिले खोप लगाउने आफ्नो पालो मोवाईल म्यासेजबाट थाहा पाउने भएकाले पनि यो अभियान प्रभावकारी बन्दै गएको बताईएको छ । शुक्रवार सम्म ७७ हजार ५ सय ३० जना नगरवासीले आफ्नो बिबरण दर्ता गराएका बुटवल उपमहानगरले जनाएको छ । अव उनीहरुले पालो अनुसार खोप लगाउने नगरको भनाई छ । खोपलाई बिद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै ,स्वास्थ्य सेवा बिभागका अधिकृत शिवलाल शर्माले नविनतम प्रबिधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने बताउनु भयो । उहाँले कार्यक्रमको परिचय उद्देश्य लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले सात प्रदेशका सात वटा पालिकामा यो अभियान चलिरहेको जानकारी गराउनु भयो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका रोशन चौधरीले आधुनिक प्रबिधिको प्रयोगले कोभिड बिरुद्धको खोप निक्कै प्रभावकारी हुने बिश्वास व्यक्त गर्नु भयो । व्यवस्थित तथ्याङ्क राख्ने कार्यले खोपको प्राथमिकता कसलाई र कसरी दिने भन्ने निक्कै सजिलो हुने बताउनु भयो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले अभियानको अहिले सम्मको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले उपमहानगरका १९ वटै वडामा प्रभावकारी रुपमा तथ्याङ्क संकलन र अनलाई दर्ताको काम भईरहेको जानकारी गराउनु भयो । । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिदै युएनडिपीको लुम्विनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले अभियानको कारण नागरिकलाई निक्कै सजिलो भएको र जोखिम मोलेर लाईनमा बस्नु पर्ने अवस्थामा कमी आएको भनाई राख्नुभयो।उहाँले भन्नुभयो,दर्ता प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाईजेसन गर्दा सहज रुपमा काम गर्न सकिन्छ र कस्ता व्यक्ति खोप लगाउन बाँकी छन् भन्ने सहजै थाहा हुन्छ ।’ यो अभियानले खोपका सम्वन्धमा भावी योजना निर्माण गर्न समेत सजिलो हुने स्पष्ट पार्नु भयो । अर्का प्रशिक्षक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आईटि अधिकृत राजेन्द्र पौडेलले यो अभियानलाई देशका सबै पालिकामा सञ्चालन गर्न सकिने हो भने सबैलाई व्यवस्थित रुपमा खोप दिन सकिने बताउनु भयो । उहाँले अभियानमा सहभागी नागरिकहरुको बिबरण कसरी भर्नेे भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा परिवार नियोजन तथा जनसंख्या अधिकृत बसन्त कुमार श्रेष्ठ,बिश्वस्वास्थ्य संगठनका प्रतिनिधीहरु डाक्टर श्रुती नेपाल र डाक्टर मोना प्रधान लगायतले बोलेका थिए । अभिमुखीकरण कार्यक्रममा उपमहानगरका सबै खोप केन्द्रका स्वास्थ्य कर्मचारीहरु,युवा स्वयंसेवकहरु,वडा कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

यो अभियानमा नाम दर्ता गर्न नभुलौं खोप लगाउन नछुटौ भन्ने नारासहित उपमहानगरका १९ वटै वडामा ४५ स्वयंसेवकहरु परिचालन गरिएका छन् । वडा कार्यालय र आनै टोल समिति मार्फत फारम भर्न पाइने भएपछि सर्वसाधरणको पहुंच बढेको छ । संक्रामक रोग जो कोहीलाई लागेपनि प्रभावीत हुने भन्दै नाम र परिचय खुल्ने कागजातका आधारमा १८ वर्षभन्दा माथिका सबै नागरिकको नाम दर्ता गरिएको छ । युवा स्वयंसेवकहरु वडा कार्यालय र टोलमा पुगेर अनलाईन नाम दर्ता गरीहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?