सुनवल।पश्चिम नवलपरासी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि मंगलबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले मगरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन।
जिल्लाका १५ महिना मुनिका बालबालिका ७ हजार ६ सय २४ जना र १६ महिनादेखि ५९ बर्षका २० हजार २ सय २६ जनाले बालबालिकाले सबै प्रकारका खोप पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताए ।
जिल्लाका सातै स्थानिय तहमा खोज र खोप अभियान संञ्चालन गरि खोपको दायरा बाहिर रहेका बालबालिकालाई समेत खोप लगाएर पालिका स्तरमा सुनिश्चिता गरेर जिल्ला सुनिश्चित भएको घोषणा गरिएको हो । खोज र खोप अभियानका क्रममा १ जनाले कुनै पनि खोप नलगाएको २ सय १६ जना बालबालिकाले खोपको मात्रा पुर्ण नलगाएको पाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो क्रममा प्रदेश सरकारका स्वास्थ्य मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा देखिएका कुपोषण, खोप सुनिश्चितता लगायतका चुनौतिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाई भईरहेको उल्लेख गरेका थिए । उनले लुम्बिनी प्रदेश सम्वृद्धि तर्फ लम्कदै गर्दा स्वास्थ्यका क्षेत्रमा देखिएका चुनौतीले समस्या सृजना गरेको बताउदै चेतनास्तर वृद्धि गरी समुदायको सहभागितामा सरकारी निकायले काम गर्नुपर्नेमा जोड दिए ।
जिल्लामा रहेको सात स्थानीय तह मध्य सुस्ता गाउँपालिका जेठ १७ गते, सरावल गाउँपालिका जेठ १८,रामग्राम नगरपालिका जेठ १९ ,प्रतापपुर गाउँपालिका जेठ २०,सुनवल नगरपालिका र बर्दघाट नगरपालिकामा जेठ ३० र पाहिनन्दन गाउँपालिकामा असार १९ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो।
नवलपरासी जिल्लालाई २०७० साल फागुन १४ गते नेपालकै पहिलो पुर्ण खोप जिल्ला घोषणा गरिएको थियो । पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी जिल्लालाई लुम्बिनी प्रदेश सरकारले यहि असार १९ गते घोषणाका लागी अनुमती दिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए।