ट्रेन्डीङ्ग

अपाङ्गता भएका व्यक्तिहरूको यौनिकता र प्रजनन स्वास्थ्यबारे सचेतना व्यापक गराउन जोड

काडमाडौँ।नेपालमा अपाङ्गता भएका व्यक्तिको बृहत यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यबारे सचेतना बढाउन जरुरी भएको सरोकारवालाले बताएका छन।शुक्रबार काठमाडौँमा भएको अपाङ्गता सचेतनासम्बन्धि पत्रकारसँगको अन्तरक्रियामा उनीहरूले सञ्चार माध्यमबाट समेत अपाङ्गता भएका व्यक्तिका यौनिक र प्रजनन स्वास्थ्यबारे शिक्षा र चेतना सम्प्रेषण गरिदिन आग्रह गरे।

सञ्चार माध्यमबाट समेत यस्ता विषयले कम प्राथमिकता पाउने गरेका कारण नागरिकले सहजरूपमा लिन नसकेको र अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनमा असजहता हुने गरेको बताए ।

नेत्रहिन युवा संघका सल्लाहकार कलाधर भण्डारीले नेपालमा अपाङ्गता भएका व्यक्तिको अवस्था तथा तथ्याङ्कसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अधिकांश अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरी विद्यालय शिक्षाबाटै बञ्चित रहेको, यौनिक शिक्षाबाट बञ्चित भएको बताए।

उनले उनीहरूलाई शारिरिक, मानसिक, संवेगात्मक परिवर्तनबारे जानकारी तथा त्यसलाई कसरी आत्मसाथ गर्नेभन्नेबारे चेतना दिन नसक्दा समस्या भोगिरहेका बताए।

अपाङ्गता अवस्थालाई धार्मिक सामाजिक पक्षसँग जोडेर अलग व्यवहार गर्नेगर्दा अपाङ्गता भएका व्यक्तिमात्र नभइ उसँग जोडिएका परिवार तथा सहयोगीले समेत समस्या भोग्नुपरेको बताउए।अपाङ्गता भएका व्यक्तिलक्षित गरेर यौनिक तथा प्रजनन स्वास्थ्यबारे प्रयाप्त बहस, छलफल तथा सूचना आममानिससमक्ष पुर्‍याउन सके धेरै हदसम्म सहज हुने उहाँको भनाइ थियो।

कार्यक्रममा राइट हेयर राइट नाउका राष्ट्रिय संयोजक राजेन्द्र श्रेष्ठले यस्तो ज्ञानको अभावमा अभिभावकले अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको उचित हेरचाह गर्न नसकिरहेको अनुभव सुनाउनुभयो । कतिपय अभिभावकले शारिरिक अंगहरुको विकाससँगै किशोरीहरुको महिनावारी, किशोरहरुमा आउने परिवर्तन आफ्ना बालबालिका तथा किशोरकिशोरीले स्वीकार गर्न र सामान्य व्यवस्थापन गर्नसमेत नसकेकोबारे समस्या सुनाउने गरेको बताए।

संघका कार्यक्रम अधिकृत निर श्रेष्ठले नेपालमा यौनिकता र प्रजनन स्वास्थ्य विवाह तथा सन्तान उत्पादनसँग मात्र जोडेर बहस नहुने गरेको तर व्यक्तिको शारिरिक विकास सहज जीवनयापन लगायतका विषयमा अपाङ्गता भएका बालबालिका, किशोरकिशोरी तथा तिनका परिवारलाई राम्रोसँग सुसूचित गर्न नसकिएको बताए।

उनले सञ्चार माध्यमबाट दिइने सूचना तथा जानकारीले आमनागरिकलाई धेरै हदसम्म प्रभाव पार्ने भन्दै अपाङ्गताका विषय तथा यौन र प्रजनन स्वास्थ्यका विषयलाई सरल र सहज भाषामा फैलाउन मिडियाले भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले अपाङ्गता मैत्री समाज निर्माणका लागि सञ्चार माध्यमले अपाङ्गता मैत्री भाषाको प्रयोगमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे ।

सञ्चार माध्यमबाट अपाङ्गता भएका व्यक्तिलाई होच्याउने तथा अपमान गर्ने खालका उखानटुक्का, कसैले भनेका भनाइ,वाक्यांश आदि प्रयोग हुँदा त्यो छिटो फैलने र नागरिकले सिक्नेतर्फ सचेत हुन आग्रह गरेका थिए ।

२ तिहाइ अपाङ्गता भएका बालबालिका औपचारिक शिक्षाबाट बञ्चित नेपालमा अपाङ्गता भएका बालबालिकाको ठुलो संख्या शिक्षाको पहुँचबाट नै बाहिर रहेको तथ्यांक छ ।२०७८ सालको जनगणनाअनुसार १९ वर्षसम्मका अपाङ्गता भएका १ लाख ६७ हजार ४ सय २९ बालबालिका र किशोरकिशोरीमध्ये बालविकास केन्द्रदेखि कक्षा १२ सम्म जम्मा ५५ हजार ६६ जनाले मात्र अध्ययन गरिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । यो तथ्याङ्कले लगभग एक तिहाइ संख्यामा मात्र अपाङ्गता भएका बालबालिका तथा किशोर–किशोरीहरू विद्यालय शिक्षाको पहुँचमा पुगेको देखिन्छ । बाँकी अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरहरूलाई विद्यालय शिक्षा दिन चुनौती रहेको नेत्रहिन युवा संघका कार्यक्रम अधिकृत श्रेष्ठले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकमा विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीलाई अध्ययन अध्यापन गराउन ३३ वटा विशेष विद्यालय, १३५ वटा बहिरा विद्यार्थीका लागि विशेष–स्रोत कक्षा, ७९ वटा दृष्टिविहीन विद्यार्थीका लागि विशेष स्रोत कक्षा, १२३ वटा बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष स्रोत कक्षा र २३ वटा एकीकृत विद्यालय सञ्चालनमा रहेको उल्लेख छ ।

एक लाख ५० हजार भन्दा ज्यादा संख्यामा रहेका अपाङ्गता भएका २० वर्ष मुनिका विद्यालय जाने उमेरका विद्यार्थीलाई औसतमा ४२० विद्यार्थी प्रति विद्यालय पर्न जान्छ । तर हाल प्रति विद्यालय औसतमा १४० मात्र अपाङ्गता भएका विद्यार्थीहरू विद्यालयमा अध्ययन गरिरहेका छन् । यसले अपाङ्गता भएका ६७ प्रतिशत विद्यालय उमेरका बालबालिका तथा किशोरकिशोरी विद्यालय शिक्षाबाट बञ्चित भएको पुष्टि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal