ट्रेन्डीङ्ग

नाम मात्रको सर्पदंश उपचार केन्द्र

परासी।सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो।चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे।


केन्द्र आउन करिव ५ सय मिटर बाँकी रहादा रहँदै फोन सम्पर्कबाट उपचार केन्द्रमा एन्टी स्न्याक भ्यानम नभएको जानकारी पाए।उत्तम र उनका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवल तर्फ कुँदाए।


उनी मात्र होईन सुनवल ११ जर्गाहाकै ४१ बर्षिया रेनुका चापागाईलाई गत आईतबार सर्पले टोक्यो। चापागाईका छिमेकीले वडा अध्यक्ष कमल चुवाई लाई तत्काल खबर गरे।चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा संचालित सर्पदंश उपचार केन्द्रमा फोन गरे।उनी जति आसावादी भएर फोन गरे तर केन्द्रबाट प्राप्त जवाफले उनलाई निकै निरास बनायो।केन्द्रले सर्पदंशको उपचार गर्न नसकिने बताएपछि चापागाईलाई तुरुन्दै परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगेर उपचार गरिएको चुवाइ बताउँछन।


नवलपरासी सर्पदंशको उच्च जोखिम जिल्ला हो।बर्षायाम संगै विसालु सर्पको टोकाईबाट ज्यानै जानसक्ने जोखिम उच्च हुँदा तत्कालै नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न सके जोखिम कम हुन्छ।


वडा अध्यक्ष चुवाईले उपचार केन्द्र नियमित संचालन र औषधी ब्यस्थापनका लागि पटक पटक नगरपालिकामा आवाज उठाउँदै आएको बताए।उनी भन्छन् “स्थानिय स्तरमा संचालनमा आएको सर्पदंश उपचार केन्द्रलाई आपसी समन्वय गरी तुरुन्त सन्चालन गर्नुपर्दछ। ”



२०७५ साल फागुन २७ गते देखी संचालनमा आएको उपचार केन्द्रले २०७५ सालमा ३ जना, २०७६-०७७ मा २२ जना, ०७७-०७८ मा ७२ जना, ०७८-०७९ मा ५८ जना र २०७९ माघ सम्म ५९ जना सर्पदंशका विरामीलाई उपचार गरेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताए।




उनका अनुसार “उपचार केन्द्र संचालन भएपछि गत माघ सम्म २ सय १४ जना सर्पदंशका विरामीलाई उपचार गरिएको छ।”भौतिक संरचना, दक्ष जनशक्ति र औषधीको अभावको कारण देखाउँदै हाल उपचार केन्द्र बन्द छ।डाक्टर खड्का भन्छन्“उपचार केन्द्रमा आईसियु र भेन्टीलेटर छैन।यस्तो अवस्थामा उपचार गर्दा जुनसुकै बेला विरामीलाई आईसियु र भेन्टीलेटरको आवश्यकता पर्ने हुनसक्छ।”




गत माघमा केन्द्रमा कार्यरत डाक्टर विनोद कुमार यादव नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा भए । उनी सर्पदंशको उपचार गर्नका लागि तालिम प्राप्त थिए।उनी गए संगै उपचार केन्द्रमा सर्पदंशको उपचार हुन सकेको छैन।न त तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यबस्था गरिएको छ।डाक्टर खड्काका अनुसार अस्पतालमा रहेको एन्टी स्न्याक भ्यानमको गत चैत्र महिनामा डेट सकिएको हो।


त्यस यता अस्पतालमा कुनैपनि निकायले भ्यानम उपलब्ध गराएको छैन भने तालिम प्राप्त जनशक्तिको ब्यबस्थापन पनि भएको छैन । केन्द्र स्थापना गर्नका लागि सुनवल नगरपालिकाको पनि सहयोग रहेकोले औषधी सकिए संगै डाक्टर खड्काले औषधी मागको पत्र लिएर नगरपालिका गएको बताए।


खड्काले नगरपालिका संग औषधी माग गरिएको बताए पनि सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भने सर्पदंशको उपचार निरन्तरताका लागि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयबाट कुनै पनि समन्वय गर्न नआएको बताईन।उनी भन्छीन् “नगर संग उपचार केन्द्रका लागि कसैले औषधी माग गरेको छैन।दुईवटा एसी माग गरिएको थियो जुन उपलब्ध गरायौं।”



औषधी सकिएकै समयमा औषधी उपलब्ध नगराएको नगरले उपचार केन्द्रमा एसी भने उपलब्ध गराएको छ।नगर प्रमुख अर्यालले सर्पदंशको उपचार केन्द्र संचालन गर्न आवश्यक समन्वय गर्न तयार रहेको बताईन।


केन्द्रको २०७५ फागुन २७ गते तत्कालिन नगर प्रमुख भिम बहादुर थापा“भरत”ले उद्घाटन गरेका थिए।उनले आफ्नो कार्यकाल अबधीमा केन्द्रका लागि आवश्यक पर्ने औषधी उपलब्ध गराउदै आएको बताए।उनी भन्छन् “औषधी बाहना मात्रै हो, खास कुरो त अघिल्ला जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुलाई बेवास्ता गर्नु हो।जनताले सेवा पाउने विषयमा अनावश्यक राजनिति नगरी सर्पदंश केन्द्र तत्काल संचालन गर्नुपर्छ। ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?