ट्रेन्डीङ्ग

हामी चम्किएका छौं

कास्की।एक सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो।लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’।२०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा निर्मित पार्टीको केन्द्रीय सम्पर्क कार्यलय कपिलबस्तु जिल्लाको शिवगढीमा सम्पन्न हुँदै थियो।देशैभरीबाट करिब ७०० जना अगुवा नेताकार्यकर्ताको जमघट,हजारौं जनसमुदाय र शुभकामनाका निम्ति रणनीतिक संयुक्त मोर्चामा आबद्ध भाइचारा पार्टीका शीर्षस्थ नेताहरु सहभागि भएको ऐतिहासिक नवौं महाधिवेशनलाई तुच्छ र क्षुद्र शब्दहरुको थुप्रोले प्रहार गर्दा डिग्रीधारी विद्वानको प्रमाणपत्र पनि लजाएको हुनु पर्दछ।

डिग्रीवालाको दृष्टिले जङ्गलको बीचमा ठडिएको भव्य घरमात्र देख्यो,श्रमिक जनता र पार्टीको रगत पसिना र लगानी देखेन।बालुवा, गिट्टी, इट्टा र रडको थुप्रो मात्र देख्यो तर क्रान्तिकारी पार्टीको मुख्यालय देखेन।प्रकृतिको हरियाली भित्र कङ्क्रिटको दरबार र भव्य हल र कोठाहरुमात्र देखे तर पार्टी र नेतृत्वको दृष्टिकोण देखेन त्यसैले त आरिसमा जल्नेहरुलाई पच्दै पचेन।

कम्युनिष्ट पार्टीको विचार,नीति,कार्यक्रम,सङ्गठन र नेतृत्वको बहस गर्ने विशेष महत्वको ऐतिहासिक कार्यक्रमलाई कलपूजा देख्ने इष्र्यालु नजर र मगजले क्रान्तिको लागि तयार लाल दस्तालाई देख्न सकेन।जनता,कार्यकर्ता र नेताको बुद्धि जुधाएर निर्माण गरेको चम्किलो र धारिलो हतियारलाई देख्न सकेन।रिस,आवेग,उत्तेजना,आक्रोश र कुण्ठाले भरिएको १५०० शब्द भन्दा बढीको लेखमा शुभकामनासम्मको शब्द पनि अट्न सकेन।यो हाम्रो दोष होईन,यो त प्रमाणपत्रधारी मनुवाको दृष्टि दोष हो।

विभिन्न र भयङ्कर,आन्तरिक र बाह्य, षड्यन्त्र र घेराबन्दीको बीचबाट विश्व कम्युनिष्ट आन्दोलनको एक टुकुडी नेपाली श्रमजीवि जनताको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नवौं महाधिवेशन उल्लासमय र गौरवमय ढङ्गले सम्पन्न गर्‍यो।यो महाधिवेशन एउटा आवधिक कार्यक्रम मात्र थिएन।यो त विचार,कार्यदिशा,कार्यनीति र सङ्गठनको संकेन्द्रण थियो।असली जनवाद(प्रजातन्त्र)को डेमो थियो । समाजवादी सत्ताका भ्रुणहरु जन्माउने कार्यशाला थियो । समाज विज्ञानका अध्येताहरुको खुला विश्वविद्यालय थियो । त्यसैले ऐतिहासिक नवौं महाधिवेशन प्रगतिशील,क्रान्तिकारी कम्युनिष्टहरुको बहस र आसाको केन्द्र बन्न पुगेको छ।

२०७१ सालमा पार्टी पुर्नगठन भएपछि दाङको राष्ट्रिय सम्मेलन र आठौं महाधिवेशनसम्म आउँदा पनि पार्टी र नेतृत्वमाथि थुप्रै आशङ्का,प्रश्न र आरोपहरु थिए।हाम्रो अगाडि क्रान्तिकारी विचार र पार्टी निर्माण अनि त्यसको प्रयोगको सन्दर्भलाई लिएर आउने चुनौति र आशङ्काहरु त थिए नै त्यसको अलवा प्रचण्ड-बाबुरामहरुको गल्तिका कारण उब्जिएका प्रश्नहरुको जवाफ समेत पार्टीले सामना गर्दै अगाडि बढ्नुपरेको थियो । स्थानिय तहको निर्वाचन र संसदीय निर्वाचनको खारेजी अभियान तथा पछिल्लो प्रतिबन्धसम्म आउँदा पार्टी आन्दोलन र नेतृत्वको उचाईले सबै प्रकारका आरोपहरु मिथ्या साबित भए।

भ्रम र प्रश्नहरुको जवाफ राष्ट्रियता, जनजीविका र जनतन्त्रको विषयमा गरेका जनपरिचालन तथा जनसङ्घर्षले नै स्वतः दियो । तीन बुँदे सहमति र एम.सी.सी विरुद्धको जनसङ्घर्षसम्म आउँदा वर्ग सङ्घर्षको नेपाली मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशाले नयाँ उचाई चुम्न पुग्यो भने जनमत सङ्ग्रहको कार्यनीतिले पनि वैज्ञानिक समाजवादबारे नयाँनयाँ बहसहरु सतहमा आए।

तात्कालिक कार्यनीतिको रुपमा जब वैशाखको स्थानिय निकायको निर्वाचनको विषय आयो पार्टीको १२ औं पुणर् बैठकले आफुसहित गरेका निणर्यहरुलाई लत्याउदै सुदर्शन—कञ्चन कमरेडहरु सिङ्गो पार्टी र नेतृत्वलाई सिध्याउने षड्यन्त्रका साथ अगाडि बढेको देखियो भने अन्ततः पार्टीबाट नै बाहिर हुनुपर्ने स्थिति आउन पुग्यो । एउटा ग्याङ्ले पार्टी विभाजनको हावा फैलाए । हामी क्रान्तिकारी हौं हामीलाई पत्याइदिनुस भन्दै बजारबजार डुल्न थाले । यो विभाजनले फेरी एउटा भ्रम र प्रश्न क्रान्तिकारी आन्दोलनमादेखा पर्न गयो । उनीहरु दलाल संसदीय व्यवस्थाका विरुद्ध होइन कि हाम्रा विरुद्ध लड्न पार्टी बनाएको जसरी प्रस्तुत हुन थाले।

समयको प्रवाह र एकीकृत जनक्रान्तिको निरन्तरताका कारण हिजका उनीहरुको चर्को स्वर विस्तारै मलिन हुँदै गएको छ, भ्रममा उता पुगेका साथीहरुको फर्किनेक्रम जारिछ । आन्दोलनमा नयाँ सदस्यहरुको आगमन पनि भईराखेको छ । फुटवादीहरुले एक्लै एक डेढ वर्ष पार्टी चलाउन सक्ने हैसियत पनि राख्न सक्ने स्थिति देखिएको छैन।उनीहरुको हालत नमच्चिने पिङको सय झट्का भने झैं हुन पुगेको छ । उनीहरुको प्रमुख काम नै नेपाल कम्युनिष्ट पार्टीको विरोध र आलोचना गर्ने भएको छ भने राजनीतिक र सङ्घर्षको काम त सहायक जस्तो बन्न पुगेको छ।

उनीहरुको जे जस्तो अवस्था भए पनि प्रतिक्रियावादीहरुले, साम्राज्यवादीहरुले हाम्रा विरुद्ध हल्लाको हावाहुण्डरी नै चलायो । जनताको मनोविज्ञान पनि धेरैथोरै विभाजित नै हुन पुग्यो।शुभचिन्तक,समर्थकहरुमा पनि हिज पैदा भएको विश्वास धेरैथोरै प्रश्नमा बदलिन पुग्यो । हाम्रा नेताकार्यकर्ताहरुको मनोविज्ञानमा पनि केही असरहरु देखा परे।यहाँका राज्यसत्ता र संयन्त्र, साम्राज्यवादी शक्तिहरु त हाम्रा विरुद्ध आएकै थिए हाम्रै भनिएकाहरु पनि हाम्रै विरुद्ध आएपछि उत्पन्न भएको सङ्कटलाई पार्टी र नेतृत्वले सम्हालेर महाधिवेशन हुँदै यहाँसम्म ल्याइपुर्‍याएको छ । हमी पनि धेरथोर प्रतिक्रियावादीको एम्बुसमा जानीनजानी पर्‍यौं।महाधिबेशन पछि पुरा टिम तङिग्रएको छ।जे होस यति ठूलो घेराबन्दी तोड्न ऐतिहासिक नवौं महाधिवेशन सफल भएको छ । सबै प्रकारका आरोप, भ्रम,आशङ्का र प्रश्नहरको उत्तरमाला महाधिवेशन बनेको छ।

‘जीवन अनेक अनिश्चयहरुबीच एकाध निश्चयको खोजी गर्ने अबिराम यात्रा हो । जीवनका सबै अनिश्चयको पहिल्यै उत्तर पाइँदो हो त जीउनुको प्रयोजन र अर्थ नै के हँदो हो र ?’ बामपन्थी लेखक खगेन्द्र संग्रौलाले भनेझै आन्दोलनका सबै रुपरेखा बनिबनाउ भैदिएको भए, माक्र्स एंगेल्सले नै विश्व साम्यवाद ल्याईदिएको भए, इतिहास आफैले क्रान्ति गरिदिने भए हामी किन सङ्घर्षमा होमिन पर्दथ्यो र ? नेकपाले किन क्रान्ति गर्नुपथ्र्योर ? तसर्थ एक समयको निस्कर्षले सधैभरी उस्तैगरी काम गर्छ भन्ने हुँदैन।यो विषयमा नवौं महाधिवेशनले दर्शन केन्द्रीत रहेर अनिश्चय, रक्षा र रुपान्तरणको नयाँ संश्लेषण गरेको छ । जुन संश्लेषणले समाजवादी सत्ताको स्थापना,रक्षा,विकास र रुपान्तरणसँग सम्बन्ध राख्दछ भने निरन्तर क्रान्तिको सिद्धान्तलाई थप पुष्टि गर्दछ र दर्शनको बन्ध्याकरण गर्नु हुँदैन भन्ने मान्यता स्थापित गर्दछ।

हामीले समाजवादी अर्थ नीतिको सार एकातिर‘क्षमता अनुसारको काम र काम अनुसारको माम’ भन्ने बुझ्दै आयौं भनै अर्कातिर समाजवादमा नै पुणर् रुपमा नीजि स्वामित्वको अन्त्य हुन्छ भन्ने मान्यताअनुसार शिक्षा ग्रहण गर्दै आयौं जुन आफैमा अन्तरविरोधी देखियो । क्षमता अनुसारको काम र काम अनुसारको दाम भन्ने नाराले नीजि स्वामित्वको अन्त्य कसरी गर्दछ ? बरु यो तर्कले त सबैलाई रोजगार अथवा स्वरोजगार बनाउने पो देखिन्छ । त्यसैले पँुजीवादी व्यवस्था र साम्यवादी व्यवस्थाबीचको एक सङ्क्रमणकालीन व्यवस्था समाजवाद भएको हुनाले क्षमता अनुसारको काम र काम अनुसारको दामलाई एकीकृत स्वामित्वको सङ्क्रमणकालीन अर्थनीति अन्तर्गत हल गर्न सकिन्छ । अथवा क्षमता मानिसको समृद्धि हो भने आधारभूत आवश्यकता राज्यको/समाजको/सत्ताको दायित्व हो । नवौं महाधिवेशनले अर्थनीतिको सन्दर्भमा निकै वस्तुवादी संश्लेषण गरेको छ।

महाधिवेशनले गरेको अर्को महत्वपुणर् संश्लेषण समाजवादी व्यवस्था र प्रतिस्पर्धाको विषय हो । २० औं शताब्दीमा हराभरा भएको समाजवाद र त्यसको विघटनको इतिहासबाट गहिरो पाठ सिक्दै हामीले हाम्रो समाजवादमा प्रतिस्पर्धा र सहकार्य दुवै सँगै लैजानु पर्दछ भन्ने निस्कर्ष महाधिवेशनबाट गरेका छौं । स्वच्छ प्रतिस्पर्धाले व्यक्ति, संगठन र सार्वजनिक संस्थाहरुलाई सक्षम र बलियो बनाउँदछ भने अनुशासनसहितको सहकार्यले मित्रभाव, मेलमिलाप, साझापन र साझेदारीको सुनिश्चितता गर्दछ । यो नीतिले कम्युनिष्ट पार्टी र सत्तामाथि उठाइएका प्रश्नहरुको हल गर्दछ । हामीले तथ्यद्वारा सत्य पत्ता लगाउने विधि अन्तरर्गत नै यी सैद्धान्तिक संश्लेषणहरुको व्यवहारिक प्रयोगद्वारा प्रमाणित गर्नुपर्दछ।

महाधिवेशनले गरेका समसामयिक प्रस्ताव र महत्वपुणर् घोषणाहरुले पनि नयाँ बहसको सृजना गरिदिएको छ । ती प्रस्तावहरु केही तात्कालिक कार्यनीतिसँग सम्बन्धित छन् भने केही दीर्घकालिन महत्व राख्नेहरु पनि छन् । अहिले खास गरेर ‘सी’ बहस अगाडि आएको छ । जब हामीले कम्युनिष्ट पार्टीका सदस्यहरु प्रत्येक जाति भन्दा माथि उठ्नुपर्छ भन्ने सैद्धान्तिक आधारको सुरुवात हामी आफैबाट गर्नुपर्छ भन्ने पार्टी महासचिवको प्रस्ताव कार्यान्वयन गर्‍यौं यसको प्रभावले सबैतिर हान्यो । महाधिवेशनको विषयमा समाचार नबनाउने पुर्वाग्राही सञ्चार गृहहरुसमेत ‘सी’ बहसबाट तर्किन सकेन । उनीहरु प्रश्न गर्न र समाचार लेख्न बाध्य भए । हामीले ऐतिहासिक नवौं महाधिबेशनबाट नयाँ मानव जाति निर्माणको प्रारम्भिक चरण सुरु गरेका छौं ।नयाँ चुनौतिको सामना गर्न तयार भएका छौं।

महाधिवेशनले नेपाली समाजको वर्ग चरित्र, भुमण्डलीकृत पुँजीवादको शोषणको स्वरुप र आजको अवस्था, पँुजीवादीहरुको समवर्गीय सङ्घर्ष, उत्पीडित राष्ट्र र साम्राज्यवादी मुलुकहरुबीचको अन्तरविरोध, बहुध्रुवीय विश्व र अन्तराष्ट्रिय शक्ति सङ्घर्ष र सन्तुलन, पुँजीवादी र समाजवादी साम्यवादीहरुको सङ्घर्ष, विश्व कम्युनिष्टहरुको साझा मञ्च चौथो अन्तराष्ट्रियको आवश्यकता जस्ता महत्वपुणर् विषयहरुमा पनि व्यापक छलफल र महत्वपुणर् निस्कर्षहरु निकालेको छ।

नेपाली क्रान्तिको सन्दर्भमा पनि कार्यगत एकता, रणनीतिक संयुक्त मोर्चा र ध्रुवीकरणको विषयमा मिहिन छलफल भएको छ । वर्ग सङ्घर्ष र राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई सँगै लैजाने प्रण महाधिवेशनले गरेको छ । समाजवादी सत्ताको अभ्यास गर्दै सत्ताका भ्रुणहरुलाई विकास गर्दै लैजाने नीति पनि महाधिवेशनले तय गरेको छ।तसर्थ महाधिवेशन एक आवधिक समिक्षा कार्यक्रम मात्र नभएर दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन वटै सङ्घटक अङ्गको क्षेत्रमा नयाँ संश्लेषण गर्दै ऐतिहासिक बनेको छ।

नेकपाको नवौं महाधिवेशन एक महाविश्वविद्यालय जस्तो बन्न पुग्यो । जहाँ देशैभरीबाट आएका नौजवानहरु र सामाजिक/राजनीतिक शास्त्रका विद्यार्थीहरुले, अध्येताहरुले राजनीतिक वैचारिक र नीति निर्माणको बहसमा भाग लिए र आफ्नो अपनत्व स्वीकार गरे । जोशिला नयाँ पुस्ताका लाल दस्ताहरुले खलि खेले अनि क्रान्तिकारी आन्दोलनका लागि आफूलाई परिपक्व बनाए । हामी महाधिबेशनबाट चङ्गा भएर फर्केका छौं । हाम्रो दिमागले सशस्त्र र निसश्त्र दुवै सङ्घर्षलाई सेट गरिसकेको छ । हामी धारिलो र स्पातिलो मिसाइल बोकेर लामबद्ध भईसकेका छौं।

वर्गबैरी र राष्ट्रघाती विरुद्ध पड्कन हामी तयार भएका छौं । हामीले आन्तरिक र बाह्य, मित्रशक्ति र विरोधी शक्ति दुवैलाई जवाफ दिएका छौं । सारमा भन्दा हामी पार्टीप्रति, क्रान्तिप्रति, मुल नेतृत्वसहितको सिङ्गो पङ्क्तिप्रति, हाम्रो राजनतिक कार्यक्रम र कार्यदिशाप्रति विश्वस्त भएका छौं।महाधिवेशनबाट हामी सुदृढ भएका छौं, स्पष्ट र छर्लङ्ग भएका छौं,उद्देलित भएका छौं,आत्मविश्वासी भएका छौं,एकताबद्ध भएका छौं,थप लडाकु भएका छौं, सजग भएका छौं । श्रमजीवि जनताको आसा र भरोसासहित हामि चम्किएका छौं ।

लेखक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी काजि सी हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?