पुजा लम्साल, सुनवल,माघ १८।
सुनवलमा ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा कुष्ठरोग अभिमुखिकरण तथा सहायक सामाग्री वितरण गरिएको छ । कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता भन्ने भन्ने नारासहित सुनवल नगरपालिकाको आयोजना तथा दि लेप्रोसी मिसन नेपालको सहयोगमा कार्यक्रम संचालन भएको थियो ।
सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले कुष्ठरोगीलाई आवश्यक व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभएको छ । स्वास्थ्य लाभ भईसकेपछि उनिहरुको मनोवल बढाउन लेप्रोसीले उल्लेखनिय कार्य गरेको बताउनुभयो।
सुनवल स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले सुनवल नगरपालिकामा हाल ११ जना पुरुष र ५ महिला गरी १६ जना कुष्ठरोगी उपचाररत रहेको जानकारी गराउनुभएको थियो । उहाले कुष्ठरोगबाट बच्नको लागि कुष्ठरोगको लक्षण र सुरक्षित हुने उपायहरुका बारेमा सचेत हुनुपर्ने र नियमित रुपमा स्वास्थ्य जांच गरिरहनु पर्ने बताउनुभयो।
लेप्रोसी मिसन नेपाल इम्प्याक्ट परियोजनाका सुपरभाइजर भगवति राउतले अपांगता भएका व्यक्तिहरुको आयस्तर माथि उकास्नु नै परियोजनाको मुख्य उदेश्य रहेको जानकारी गराउनुभएको थियो । उहाले यो परियोजना सुनवल नगरपालिकाको वडा १,४,७ र ८ मा संचालनमा रहेको र ति वडामा स्वयम सहायता समुह गठन गरी जिविको पार्जनका लागि विउपुजि सहयोग, क्षमता विकासका लागि तालिम संचालन गर्दै आईरहेको बताउनुभयो । यस्तै राईट परियोजनाले इम्प्याक्ट परियोजनाले गठन गरेका स्वयम सहायता समुहहरुको अनुसन्धान गर्ने र समुहहरुलाई अघि बढाउन सहयोग गर्ने उहाको भनाई छ ।
सोहि अवसरमा अपांगता भएका व्यक्तिहरुलाई ह्विल चियर,अन्य सहायक सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लेप्रोसी मिसन नेपाल राईट परियोजनाका अनुसन्धानकर्ता सुरज पुरी, महिला स्वास्थ्य स्वयम्सेविका संघ केन्द्रिय सदस्य सरस्वति सुवेदी, कार्यपालिका सदस्य रमा देवि शर्मा,सुनवल वडा नं १ का वडा सदस्य मनबहादुर थापा,सुनवल स्वस्थ्य चौकि प्रमुख पार्वति केसी, स्वाठि स्वास्थ चौकि प्रमुख भोपेन्द्र पौडेल, लेप्रोसी मिसन नेपाल का सुरक्षा पौडेल लगायत महिला स्वास्थ्य स्वयम् सेविकाहरुको उपस्थिति रहेको थियो । रामनगर स्वास्थ्य चौकिका प्रमुख ईश्वरी प्रसाद न्योपानेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सुनवल नगरपालिकाका चुरामणि नेपालले गर्नुभएको थियो ।
कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । कुष्ठ रोग माइको ब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक भएर ज्यानसमेत गएको पाइन्छ ।
सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कुष्ठरोगका लक्षण रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ । नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ । कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले जोखिम बढ्दै गएको छ ।