ट्रेन्डीङ्ग

बौद्ध वक्तृत्वकलामा पुरस्कारले ५० हजार पुर्‍याउने घोषणा

ललितपुर।२८औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाःप्रथम हुनुभएको छ।

बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१ गते शनिबार सो प्रतियोगितामा प्रथम हु्ने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो । प्रतियोगितामा शाक्यसिंह बौद्ध परियति शिक्षालयका अनिशा श्रेष्ठ द्वितीय धर्म साकच्छा संघ हःखाका प्रतिष्ठा शाक्य तृतीय हुनुभएको छ। प्रतियोगिता द्वितीय र तृतीय हुने दुवै जनाले कर्म र कर्म फलको विषयमा प्रस्तुत गरेका थिए।

त्यस्तै सान्त्वना हुनेमा दिपावती पुस्तकालयका पारमी शाक्य विपश्यना ध्यानको महत्व र निर्वाणमूर्ति विहारका सजगता मानन्धरले बालबालिकाको लागि बुद्ध शिक्षाको आवश्यकता बारे बोल्नुभएको थियो। प्रतियोगितामा १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । लोट्स रिसर्च सेन्टरका मधुर शाक्यले कर्म र कर्म फल,दिपावती बौद्ध परियतिका आर्य बि.सीले बुद्ध धर्म एक वैज्ञानिक ज्ञान दर्शन,जगतसुन्दर ब्वनेकूथि परियति केन्द्रका रविना श्रेष्ठले बुद्ध धर्ममा उपचार पद्धति,महाबौद्ध पुस्तकालयका प्रसिद्धिका शाक्यले बुद्ध धर्मको उत्थानमा बहाःबहीको महत्व,युवा बौद्ध समूहका मोनिका केसीले परियति शिक्षाको महत्वबारे बोल्नुभएको थियो ।

सर्वोकृष्ट तीन स्थान ओगट्नेलाई क्रमशः नगद पुरस्कार १५ हजार रुपैयाँ १० हजार र ८ हजार रुपैयाँ १ र द लास्ट रिसोर्टको तर्फबाट सिन्धुपाल्चोकको भोटेकोशीमा बञ्जी जमको टिकट प्रदान गरिएको थियो। प्रथम हु्नेलाई लकी टुर एण्ड ट्राभल्सले २ जनालाई काठमाडौं पोखराको एकतर्फी हवाजजहाज टिकट प्रदान गरेको थियो। प्रथम हुनेलाई नगद पुरस्कारसहित सहभागीलाई एक एक ÷हजार गरी २५ हजार रुपैयाँ समाजसेवी मोतिलाल शिल्पकारले प्रदान गर्नुभयो।वाग्मती प्रदेशका सांसद् शोभा शाक्यले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो।
प्रतियोगिताका निर्णायक मण्डलमा भिक्षु विमलो, शाक्य सुरेन, मदनरत्न मानन्धर र नरेशवीर शाक्य रहनुभएको थियो।नगद पुरस्कारसहित युवालाई आकर्षक गर्ने पुरस्कारले गर्दा यस वर्षको प्रतियोगितामा युवावर्गको रौनक र उत्साह छाएको थियो।

सहयोग गर्न मन्त्रालय तत्पर :संस्कृति मन्त्री जिवनराम श्रेष्ठ

यस अघि सो प्रतियोगिताको उद्घाटन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले यस किसिमका रचनात्मक क्रियाकलापले किशोर,किशोरी र युवावर्गमा बुद्धको ज्ञान बुझाउने र व्यक्तित्व विकास गर्ने धारणा राख्नुभयो।

लुम्बिनी विकास कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले लु्म्बिनीको गुरुयोजना अनुरुप विश्वको शान्ति र पर्यटन केन्द्र बनाउन आफूले प्रयास गरिरहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले बुद्धको सन्देश फैलाउने,संस्कृतिको विकासमा मन्त्रालय सधैं सहयोगी हुने पनि बताउनुभयो।

सभामा भिक्षु कौण्डन्यले कार्यक्रमलाई समयसापेक्ष बनाउँदै युवावर्गको कोणबाट बुद्ध धर्मका विविध विषयको चयन र प्रस्तुतीलाई आकर्षण र मौलिक बनाउने विषयमा अझ गृहकार्य गर्दै अघि बढ्नुपर्ने खा“चो औल्याउनुभयो।वाग्मती प्रदेशका सांसद् शाक्यले नेपाल मण्डल व्यापी पर्वलाई वाग्मती प्रदेश व्यापी बनाउनुपर्ने बताउनुभयो।
सो अवसरमा युवावर्गलाई लक्षित गरी बुद्ध धर्मको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा दुई जना बौद्ध व्यक्तित्व कमिटीका संस्थापक राजु शाक्य र पूर्वअध्यक्ष सुनील महर्जनलाई सम्मान गरिएको थियो । सम्मानित हुनेलाई कमिटीका अध्यक्ष सतिश शाक्यले फुल माला लगाई, भिक्षु कौण्डन्यले दोसल्ला ओढाई र मन्त्री श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभयो।

बौद्ध युवा कमिटीका पूर्वअध्यक्ष सुनील महर्जनले यस पर्वलाई बुद्ध धर्मको कोण र क्षमता विकासको कोणबाट हेर्नुपर्ने उल्लेख गर्दै यसमा युवावर्गको रुचि, चाहना र आवश्यकतालाई सम्बोधन गर्दै जानुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा बौद्ध वक्तृत्वकला पर्व मूगुथिको अध्यक्ष विश्वन्तर शाक्यलाई कार्यकालको सफलताको कामना गर्दै शुभकामना एवं बधाई पत्र प्रदान गरिएको थियो।अध्यक्ष शाक्यले आफ्नो कार्यकालमा पहिलो हु्नेलाई प्रदान गरिने नगद पुरस्कारको राशि ५० हजार रुपैयाँ पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच सोही समारोहमा मूगुथिको तर्फबाट समाजसेवी मोतिलाल शिल्पकार,स्वर्गीय धर्मबहादुर शाक्यका सुपुत्र चन्द्रसिद्धि शाक्य,मूगुथिका निर्वतमान अध्यक्ष पूर्णराज शाक्य र बौद्ध युवा कमिटीका अध्यक्ष सतिश शाक्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कोरोना संक्रमणका कारण २०७७ र २०७८ बाहेक विसं २०५० सालदेखि प्रत्येक वर्ष असार पूर्णिमा (धर्मचक्र प्रर्वतन दिवस) को अवसरमा यस कार्यक्रम सञ्चालन हुँदै आएको छ । विभिन्न संघसंस्थाले पालैपालो सञ्चालन गर्दै आएको यस कार्यक्रमको निरन्तरता र आवश्यक सहजीकरणका लागि पालो लिएका संघसंस्था प्रतिनिधिहरु सहभागी भई विसं २०६३ मा मूगुथि स्थापना गरिएको थियो । शुरुमा पर्वको रुपमा सञ्चालन गरिएको यस कार्यक्रममा आकर्षक प्रस्तुतीका लागि सहभागीलाई प्रोत्साहित गर्न सर्वोकृष्ट तीन स्थान र सान्त्वना गरी सहभागीको मुल्याङ्कन गर्ने प्रणाली शुरु गरिएको थियो।

तीन दशकको दौरान यस कार्यक्रम बुद्ध शिक्षा बुझाउनेसंगै युवावर्गको क्षमता विकासको एउटा बलियो माध्यमको रुपमा स्थापित भएको कमिटीका अध्यक्ष सतिश शाक्यले बताउनुभयो।कमिटी यस अघि २०६६ साल श्रावण २७ गते शनिबार बुद्ध धर्म, बौद्ध सरोकारसंग जोडिएको समसामयिक विषय समावेश गरी१७ औं पर्वको सञ्चालन गरेको थियो। २०८० सालमा २९ औं बौद्ध वक्तृत्वकला पर्व सञ्चालन गर्ने जिम्मेवारी काठमाडौंको डुल्लु, चागलस्थित जगतसुन्दर ब्वनेकूथिले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?