च्यातिदिँउ भ्रमको साम्राज्य
उहिले सर्वहाराको गीत गाउनेहरू
आज पनि उहीँ माटोमा
उस्तरी नै
उहीँ भाका, उहीँ लयमा
उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन
त्यो गीतको छाती टेकेर उभिनेहरू
आज सत्ताको सोपानमा विराजमान छ ।
हिजो स्वतन्त्रताको कविता लेख्नेहरू
आज पनि उस्तै कविता लेखिरहेछन्
कोरिरहेछन् उहीँ उत्पिडित वर्गका बिम्बहरू
समेटिरहेछन् पिँधका मान्छेहरूको आवाज
कत्तिले त अक्षरको अपराधमा चढाए आफ्नो शरीर
खैर त्यहीँ कविताको ढाँडमा टेकेर उक्लिनेहरू
आज सत्ताको सोपानमा विराजमान छ ।
हिजो मुक्तिको खातिर लड्नेहरूलाई
वस्तीमा बास दिनेहरू
आज पनि हरेक साँझ टहलिदै चौतारीमा
मुक्ती आउने बाटो पर्खिरहेछन्
पर्खिरहेछन् फेरिने यो वस्तीको अनुहार
यी निर्दोष मुटुमाथि टेकिजानेहरू
आज चुपचाप सत्ताको सोपानमा विराजमान छ ।
भर्खरै उहीँ ईश्वरलाई चढाएको हो औँठाछाप
मनाएको हो विजयोत्सव
जोडजोडले पड्काएको हो ताली
मान्छेलाई ईश्वर ठानेर ईश्वरप्रति विश्वास राख्नेहरू
आज पनि ईश्वर आउने बाटो हेरिरहेछन्
पर्खिरहेछन् ईश्वरको चमत्कार
यी निर्दोष आँखाहरूमाथि छलिजाने दलाल
आज चुपचाप सत्ताको सोपानमा विराजमान छ ।
गाउँमा आमा पर्खिरहेछिन्
उज्यालो बोकि आउने मान्छेहरू
गाउँको अगेनुबाट अगुल्ठो बोकेर हिँडेकाहरू
आज गाउँकै छानोमा अगुल्ठो झोसेर
सेकिरहेछ आङ
यी निस्वार्थ दिल भत्काइजानेहरू
निसन्देह सत्ताको सोपानमा विराजमान छ ।
सत्ताको मातले होस बेहोस धर्मराइरहेछ दलाल
अब कहिलेसम्म गाइरहने हो
“गरिबको चमेली बोल्दिने कोइ छैन”
कहिलेसम्म चढाउनुपर्ने अक्षर अपराधमा शीर ?
कहिलेसम्म ओढीरहनुपर्ने भ्रमको आकाश
भो उतै छोडेर आऊ ती गीतका धुनहरू
च्यातिदिँउ भ्रमको साम्राज्य ।✍️ प्रेमिला राई, खोटाङ