
असोज १२ काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा प्रयोग गरि ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ-१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई रहेका छन ।
राईले फेसबुकमा’केडी गोर्खाली’नामक फेक आईडी बनाएर महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि उनले ती महिलालाई ‘म यूके लाहुरे हुँ । मेरो श्रीमतीको इटहरीमा सवारी दुर्घटना परी मृत्यु भएको हो । म तिमीलाई माया गर्छु । तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाएका थिए ।
गत भदौ १६ गते राईले ती महिलालाई आफ्नो आमा कलेजोको रोगी रहेकाे र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए । उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक-पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद,सुनको बेरुवा औँठी,सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।
ती महिलाको उजुरीको आधारमा राईलाई महानगरीय अपराध महाशाखाको टोलीले असोज ११ गते पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको जानकारी दिएको छ ।