
परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले सडक मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले आज परासी बजारको बुद्द्चोकमा मापदण्ड विपरीतका संरचना हटाउन डोजर चलाएको हो । नगरपालिकाले सडक तथा फुटपाथमा राखिएको निर्माण सामाग्री हटाउन र सडक मापदण्ड भित्रका संरचना भत्काउन सूचना जारी गरेको थियो।
सडक मिचेर बनाएका संरचना नहटाएकाले आज डोजर लगाएको नगरपालिकाले जनाएको छ । केही घरका घाम छेक्न बनाइएका टिनका टहरा र पृथ्वी चन्द्र अस्पतालले भाडामा लगाएका सटर क्षेत्रमा नगरपालिकाले डोजर लगाएको हो ।ग्रामीण भेगसम्मै यो अभियान जारी रहने रामग्राम नगरपालिकाले जनाएको छ । तर केही स्थानीयबासीले भने पर्याप्त सूचना र आवश्यक तयारी बिना नगरपालिकाले डोजर लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन।
नगर प्रमुख धनपत यादवले कसैलाई पनि दुख दिने नियत नरहेको बताउँदै सबैलाई पटक पटक सूचित गरेर मात्र डोजर चलाइएको बताउनुभयो । अस्पताल विकास समितिलाई समेत पत्र लेखेरै अस्पतालले भाडामा लगाएका सटर क्षेत्रले सडक मापदण्ड मिचेको बारे सचेत गराएपनि नहटाएपछि आज डोजर लगाउनुपरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो । बाँकी स्थानमा भोलि पनि यो क्रम जारी रहने नगरपालिकाको भनाइ छ ।











