ट्रेन्डीङ्ग

वालिङ:पहिरो रोकथामका लागि प्रभावित क्षेत्रको अवलोकन

तोलाकान्त बगाले,वालिङ,३असोज ।वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ।

वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउनका लागि योजना बनाउन लागिएको हो ।

सडक विभागले खनेको बाटोका कारण गतवर्ष असोजमा माथिबाट पहिरो आएसँगै एकैघरका ९ जनाको पुरिएर मृत्यु भएको थियो भने पशुचौपायाहरु मरेका थिए । पहिरोका कारण घरै भत्किएपछि चार घर विस्थापित भएका छन् ।

गतवर्ष पहिरो गएको ठाउँभन्दा माथि जमिन चर्किएकाले त्यसको रोकथाम र बाढी पहिरो गईसकेको ठाउँमा नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुकाबारेमा ईञ्जिनियरहरुको टोलीले अध्ययन गरेर कुन ठाउँमा के विधि अपनाउँदा प्रभावकारी हुन्छ सोही अनुसार योजनासहित अगाडि बढ्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो।

आगामी दिनमा थप क्षति हुन नदिनकालागि माटोको अवस्था हेरी जाली लगाउने,पर्खाल लगाउने र बायोईन्जिनियरिङ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम तथा नियन्त्रण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

पहिरोका कारण विस्थापित बनेका परिवारहरुका लागि जग्गा छनोट र आवास निर्माणका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयका बरिष्ठ अधिकृत दिवाकर पौडेलले नगरपालिकासँगको सहकार्यमा यस ठाउँमा छिट्टै काम सुचारु गर्ने बताउनुभयो । गतवर्ष नगरपालिका र जलाधार कार्यालयको साझेदारीमा बायोईञ्जिनियरिङ प्रविधिबाट तटबन्ध कार्य गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?