
मुक्ति गैरे,भदौ ३०,पाल्पा ।विप्लव नेतृत्वको नेकपा निकट युुवा संगठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणको नेतृत्वमा गएको टिमले ज्ञापन पत्र बुझाएको हो ।
ब्युरो इन्चार्ज विश्लेषणले सरकार र नेकपाबीच भएको ३ बुँदे सहमतिपत्र वाचन गर्दै सहमतिप्रति राज्यपक्ष उदासिन भएको भन्दै यो सहमति कार्यान्वयनको निम्ति राज्यपक्षले ढिला गरे परिणाम गम्भीर हुने बताए ।
राजनीतिक सहमति अनुसार राजनीतिक आस्थाका सम्पूर्ण राजबन्दीहरु जेलबाट नछुट्नु राज्यको उदासीनता भएको बताउदै मागपत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले नेकपाका नेता कार्यकर्तामाथि लगाएको झुठा मुद्दाहरु तत्काल खारेज गर्नुपर्ने समेत बताए ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको सञ्चालन संगठनका जिल्ला अध्यक्ष लिला सारुले गरेका थिए भने कार्यक्रममा तानसेन नगर सेक्रेटरी सुमनलगायत संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । संगठनले केन्द्रीय कार्यक्रम अन्तर्गत पाल्पामा ज्ञापनपत्र बुझाएको हो । संगठनले बन्दीको अबिलम्ब रिहाई र झुठा मुद्दा खारेजीको माग गर्दै देशभर प्रधानमन्त्री तथा मन्त्रीपरिषदलाई ज्ञापन पत्र बुझाएको छ।