ट्रेन्डीङ्ग

एमसीसी सम्झौताविरुद्ध नेकपा दाङद्वारा बिरोध प्रदर्शन

भदौ २५ दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन सम्पन्न गरेको छ ।

जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एमसीसी साझौता चीनप्रति लक्षित सैन्य परियोजना भएको बताएका छन। उनले अमेरिकी साम्राज्यवादले एमसीसीमार्फत चीनमाथि आक्रमण गर्ने र नेपालमा भएको बहुमूल्य धातु युरेनियम कब्जा गर्ने रणनीति लिएको समेत बताए । नेता शितलले एमसीसी पास गर्ने सांसदहरूलाई जनताले गाउँगाउँबाट लखेट्ने उद्घोष गरे । लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतीय अतिक्रमण र एमसीसीमार्फत देशलाई रणमैदान बनाउने अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध चुइक्क बोल्न नसक्ने बिदेशी दलालहरूका विरुद्ध आफूहरू निर्मम बिद्रोह गर्ने नेता शितलको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य किरणले आफ्नो पार्टीमाथि राज्यले प्रतिबन्ध लगाएर ठूलो भुल गरेको बताए । उनले भने, “राज्यले हामीमाथि बिनाकारण प्रतिबन्ध लगायो र तीनबुँदे सहमति गर्न बाध्य भयो ।” नेता किरणले राष्ट्रघाती एमसीसी साझौताका पक्षमा हस्ताक्षर गर्ने सांसदहरूको औला काटिदिने चेतावनीसमेत दिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल गणतान्त्रिक खेलकुद महासङ्घका केन्द्रीय सदस्य रुद्रले एमसीसी सम्झौता पास गरे यो देशका शासकहरूको हालत अफगानिस्तानका शासक घानीको जस्तो हुने बताए । नेता रुद्रले बरु बलिदान गर्न तयार रहेको तर एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुन नदिने उद्घोषसमेत गरे ।

बिरोध प्रदर्शन कार्यक्रम तुलसीपुर बजारका विभिन्न चोकमा र्यालिसहित परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

एमसीसी सम्झौताविरुद्धको बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले गरेका थिए ।

यस्तै नेकपा दाङले जिल्लाको भालुबाङमा पनि बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । उक्त बिरोध कार्यक्रमलाई सम्बोधन नेकपा बिशेष कमिटी सदस्य बिक्रम, नेकपा गढवा–राजपुर गाउँपालिका इन्चार्ज सुरज र सहिद परिवार समाज राप्ती ब्युरो इन्चार्ज धर्तीले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेकपा जिल्ला कमिटी सदस्य दानबहादुरले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?