ट्रेन्डीङ्ग

व्यवस्था परिवर्तनका विषयमा खुल्ला बहस गरौ : विप्लव

केशवराज भट्टराई,भदौ १२ ,चितवन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद र दलाल संसदिय व्यवस्थाका विषयमा खुल्ला छलफल गर्नु पर्ने र त्यसको लागि तयार रहन सम्पुर्ण राजनीति दल, वुद्धिजिवी, कर्मचारी, शिक्षक, व्यवसायी लगायत आम जनसमुदायमा अपिल गरेका छन।

शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका सबै राजनीति दलको अन्तिम लक्ष्य समाजवाद भन्ने तर प्राप्तिको लागि बहस छलफल गर्न समेत तयार नहुने भन्दै जनताको आँखामा छारो हाल्ने र भ्रम सिर्जना गर्ने यस प्रकारको काम गर्न बन्द गर्दै संसदीय व्यवस्थाको उच्चतम विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमत संग्रहका लागि तयार रहन अपिल गरेका हुन्।

उनले हालको संसदीय व्यवस्था पुर्णरुपमा असफल भएको भन्दै आफुहरु असफल दलाल संसदीय व्यवस्थामा कुनै पनि हालतमा नजाने र वैज्ञानिक समाजवादका लागि निरन्तर बहस र संघर्ष गरिरहने समेत बताएका छ्न। उनले भने ” संसदीय व्यवस्था दलाल पुँजीवादीहरुको व्यवस्था भएकोले ४० वर्ष देखि चले पनि पुर्णरुपमा असफल भएको र यहि व्यवस्थाका कारणले आज जनताले दुख पाइरहेको,देशमा वैदेशिक हस्तक्षेप बढेको,दिन दहाडै राष्ट्रिय स्वाधिनता र अस्मिता लुटिएको,महंगी भ्रष्टाचारमा व्यापक वृद्धि भइरहेको, देशले गरिबी भोग्नु परिरहेको र नेपाली युवा युवती खाडिमा बेचिनु परेको छ,त्यसैले हामी यो असफल दलाल संसदीय व्यवस्थामा जाँदैनौ र यो व्यवस्था परिवर्तन गरि जस्तो सुकै मूल्य चुकाएर भए पनि जनताको र सहिद परिवारहरुले खोजेको जस्तो वैज्ञानिक समाजवाद ल्याउने छौं र वैज्ञानिक समाजवाद ल्याउन दलाल संसदीय व्यवस्था बदल्न सबै एकजुट भएर लागौं।”

महासचिव विप्लवले आफुहरु शान्ती पुर्ण बाटो बाट नै वैज्ञानिक समाजवाद ल्याउन खोजेको र त्यसको लागि हामीले जनमत संग्रहको प्रस्ताव ल्याएको तर यस विषयमा छलफल गर्न कुनै राजनैतिक दलहरु तयार नभएको बताएका छ्न। उनले भने “हामीले शान्तीपुर्ण बाटोबाट यश दलाल संसदीय व्यवस्थाको विकल्प स्वरुप वैज्ञानिक समाजवाद ल्याउन चौर्तफि बहस चलाउनुका साथै वैज्ञानिक समाजवाद र संसदिय व्यवस्थाका बिच जनमत संग्रहको प्रस्ताव ल्यायौँ तर जनताको आँखामा छारो हाल्ने किसिमले बाहिर समाजवाद /समाजवाद भन्ने अनि संसदीय व्यवस्थालाई नै उत्कृष्ट व्यवस्था मान्नेहरु बहसमा भाग लिन तयार भएनन।” उनले संसदीय व्यवस्था अनुरुप नेता र पार्टी चुन्ने चुनाव बारम्बार भएको तर त्यसले देशको उचित राजनैतिक निकास दिनुको उल्टो देश झन राजनैतिक अस्थिरतामा फस्नुको साथै विस्तारवाद र साम्राज्यवादको क्रिडा स्थल बन्न पुगेको भन्दै अब नेता र पार्टी चुन्ने चुनाव नभइ व्यवस्था छान्ने जनमत संग्रह हुनु पर्ने र जनताले आफुले खोजेको जस्तो व्यवस्था आफै छान्न पाउनु पर्ने समेत बताए।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले ओलि सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु गलत भएको बताएका छ्न्।उनले सर्वोच्च अदालतले समेत दोषी ठहर गरेको एनसेललाई कारबाही गर्नु, नेपाली युवायुवतीलाई विदेशमा पुर्याएर अलपत्र पार्ने, चेलीबेटी बेचविखन गर्ने मानवतस्करीलाई कारबाही गर्दा, ललिता निवासको सरकारी जमिन बेचबिखन गर्नेलाई कारबाही गर्दा र भ्रष्टाचारिलाई जनताको चाहाना अनुसार जनकारबाही गर्दा प्रतिबन्ध लगाउनु सरकारको गल्ती भएको बताएका हुन। उनले क्रान्तिमा लागेर नेताकार्यकर्ता मारिन सक्ने, गिरफ्तार पर्न सक्ने तर क्रान्ति र विचार कहिल्यै पनि नसकिने नमर्ने बताएका छ्न। उनले भने “सरकारले हामीलाई प्रतिबन्ध लगाएर १/२ महिनामा सकाउँछौ भन्ने घमण्ड देखायो तर क्रान्तिमा लागेका नेता कार्यकर्ता मारिन सक्छन्, गिरफ्तारमा पर्न सक्छन् तर क्रान्ति र विचार कहिल्यै कसैले मार्न सक्दैनन्।”

सरकारले आफ्ना करिब सवा सय नेता कार्यकर्ता अझै पनि जेल हिरासतमा रहेको भन्दै विप्लवले उनिहरुलाई तत्काल रिहा गरि सरकार संग भएको ३ बुँदे सहमती कार्यान्वयनमा इमान्दारी देखाउन आग्रह गरे। यसै बिच वार्ताकै विषयमा बाहिर छरिएका भ्रमहरुमा विस्वास नगर्न सम्पुर्ण नेता कार्यकर्ता र शुभचिन्तकहरुमा आग्रह गर्दै पार्टी र सरकार बिच भएको तीन बुँदे सहमती बारे प्रष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal