ट्रेन्डीङ्ग

चापाकोटका मेयर गिरीलाई अदालतद्वारा १५ दिन भित्र उपस्थित हुन आदेश

वालिङ,३२ साउन–                                              चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरीलाई उच्च अदालत पोखराले १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । उच्च अदालत पोखरामा नगरपालिकाका प्रमुख गिरीलाई विपक्षी बनाएर मुद्धा दायर गरिएपछि अदालतले नगरप्रमु गिरीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

नगरपालिकाले प्रकृया पुरा नगरी मापदण्ड विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै गठित समिति तत्काल खारेज गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको अदालतले जनाएको छ ।

नगरपालिकाका नगरप्रमुख गिरीले अभिभावकको अधिकारलाई कुन्ठित गर्ने गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गरेको भन्दै उहाँविरुद्ध चापाकोट नगरपालिका १० निवासी चिनुमाथा श्रेष्ठ, विवेक अधिकारी, शोभाकान्त खनाल, शंकर थापा र राम बहादुर श्रेष्ठले मुद्धा दिनुभएको थियो ।

राज्यको जिम्मेवार निकायले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य पदाधिकारी चयन गर्दा असंवैधानिक गैरकानूनी, अमर्यादित र स्वेच्छाचारी तरीकाले गरेको भन्दै निर्णय खारेज गर्न माग गर्दै आदालतमा रिट निवेदन परेको हो ।

चापाकोट नगरपालिकाले मापदण्ड विपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै परमादेश माग गर्दै परेको मुद्धामा निवेदको तर्फबाट अधिवक्ताद्धय युवराज पराजुली र राजाराम घिमिरेले बहस गर्नुभएको थियो ।

उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो र आदेश जारी जारी हुनु नपर्ने कुनै आधार कानून भए सो समेत उल्लेख गरी १५ दिनभित्र अदालतमा लिखित रुपमा उपस्थिति हुन आज आदेश जारी गरेको छ ।
अन्तरिम आदेशको सम्बन्धमा भदौ ९ गते विपक्षी र निवेदक दुवैलाई अदालतले छलफलको लागि बोलाएको छ । यस अघि चापाकोट नगरपालिका आफैले बनाएको शिक्षा ऐन मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको विरोधमा चापाकोट १० बोटेटारको जनज्योति माविका अभिभावहरुले विद्यालयमा तालाबन्दी गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?