ट्रेन्डीङ्ग

वालिङका २५६ खरका छाना हटाएर जस्तापाता लगाईयो

तोलाकान्त बगाले ,वालिङ, २५ साउन ।स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाईदिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाईएको हो ।

वालिङ नगर कार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

स्वास्थ्यका दृष्टिले जस्तापाताभन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको संभावना तथा छाना छाउने दक्ष कामदारको अभावकाकारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“कतिपय नागरिकहरु खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न” नगर प्रमुख खाँणले भन्नुभयो, “खरका छाना भएका नागरिकहरुलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने गरेकाले उहाँहरुको मागका आधारमा जस्तापाता लगाईदिंदै आएका छौं ।”

छाना विस्थापनका लागि माग भई आएका नागरिकहरुलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरहरुलाई यसैवर्षमा सम्पन्न गर्ने गरी अगाडि बढिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएकामध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमकालागि २५४ मध्ये २४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका नगर प्रमुखको सचिवालयका सचिव छबि आलेले बताउनुभयो ।

“आवेदन दिएकामध्ये सबै घरले सम्झौता गर्नुभएको छैन” आलेले भन्नुभयो, “दुई किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराउँछौं ।”

सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगेका छन् । हालसम्म वालिङ नगरपालिकाबाट हालसम्म १५० घरले रु. ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले रु. ५० हजार रकम बुझेका आलेले बताउनुभयो । नगरपालिकामा आवेदन दिएका ४३१ घरमध्ये १७५ घरहरु निर्माण हुन बाँकी रहेका छन् । प्रतिघरलाई रु. ५० हजारका दरले हालसम्म रु. एक करोड २७ लाख खर्च भएको आलेले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ बाट शुरुआत गरेको अभियानमा गत आर्थिकवर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग भएको हो ।

खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस, छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले तयार पारेको लगत ईस्टिमेटका आधारमा जस्तापाता उपलब्ध गराउने प्रक्रिया रहेको आलेले बताउनुभयो ।

१४ वटा वडा रहेको नगरपालिकाका वडा नं. २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरहरुले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?