ट्रेन्डीङ्ग

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले सुरु गरे रिले अनशन

दर्पन घिमिरे सर्लाही साउन २१

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध स्थानीयले रिले अनशन सुरु गरेका छन। लालबन्दी नगरपालिका वडा नम्बर ६ जनवादी चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति उनीहरूले विरोध जनाएका हुन्।

हिजोको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै उक्त आयोग खारेज गरेको थियो।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूलाई व्यवस्थापन गर्न गठन गरिएको आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै लालबन्दी-६ का वडाध्यक्ष उज्जवल कुमार कार्कीको नेतृत्वमा रिले अनसन सुरु भएको हो।

केपी शर्मा ओली नेतृत्वको कार्यकालमा गत वर्ष देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको थियो। सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जग्गाको मालिक बनाउने, व्यवस्थित बसोबास गर्ने लक्ष्यका साथ तत्कालीन सरकारले आयोग गठन गरेको थियो।

कांग्रेसको नेतृत्वको सरकारले आयोग कम्युनिष्टका कार्यकर्ता पाल्ने थलो भएको भन्दै हिजो (मंगलबार) विघटन गरेको थियो।

देशभरका सुकुमबासी,भूमिहीनहरूको लगत संकलन कार्य चलिरहेको समयमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले सुकुम्बासी तथा भूमिहीन नागरिकलाई सधैं एउटै दर्जामा राख्न आयोग विघटन गरेको भन्दै उक्त निर्णय फिर्ता नलिएसम्म अनशन जारी राख्ने वडाध्यक्ष कार्कीले बताए।

भूमिहीन,सुकुमबासी तथा अव्यवस्थित बसोबासी गरिरहेकाहरूलाई सरकारले सधैँ भूमिहीन बनाउने काम गरेको भन्दै भूमिसम्बन्धी समस्या समाधान आयोग संघर्ष समिति लालबन्दीले यसअघि हस्ताक्षर अभियान सुरु गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal