ट्रेन्डीङ्ग

पशु सेवा शाखा गल्याङको भवन हस्तान्तरण

साउन ७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा नवनिर्मित पशु सेवा शाखा कार्यालयको भवन हस्तान्तरण गरिएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) को सहयोगमा निर्माण गरिएको भवन विहीबार गल्याङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानको सम्मान गरेर मात्र आर्थिक सम्बृद्वि ल्याउन सकिने बताउनुभयो ।

उहाँले गल्याङ नगरपालिकाले कृषि र पशुको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिरहेको भन्दै सोही अनुसार पछिल्लो समय कृषकमा उत्साह थपिएको बताउनुभयो।

नगरप्रमुख अधिकारीले भन्नुभयो हामी सकेसम्म किसानलाई माथि उकास्ने अभियानमा छौं । यसै योजनामा अहिले सेतो सहरको अभियान सञ्चालन भैरहेको छ । यसका लागि सबैको सहयोगको आवश्यकता छ।’

उहाँले कम्युनिष्ट मात्रै नभएर काङ्ग्रेसले पनि किसानको आर्थिक विकासमा धारणा बनाएपनि त्यसलाई लागू गर्न नसकेको बताउनुभयो
नगरप्रमुख अधिकारीले भन्नुभयो विपि कोइरालाको प्रजातान्त्रिक समाजबादमा एक घर एक गाईको कुरा छ । त्यही अनुसार काङ्ग्रेसले किसानलाई माथि उठाउन चाहेको भए अहिले धेरै परिवर्तन भैसक्ने थियो।’

गल्याङ नगरपालिकामा दुई हजार बंगुरका बच्चा वितरण गर्ने योजना ल्याएको जानकारी दिदै नगरप्रमुख अधिकारीले उत्पादनका आधारमा अनुदानको व्यवस्थाले किसानले राहत महसुस गरेको दावी गर्नुभयो।

कार्यक्रममा एनएलएसआइपी हरिहर भवन ललितपुरका बरिष्ठ पशु विकास अधिकृत विश्वनाथ गौतमले सेतो सहरको सपना पुरा गर्नका लागि यो भवन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । आनो परियोजनाले २८ जिल्लामा २५ वटा भवन बनाउने क्रममा यो भवन निर्माण भएको जानकारी दिदै यसको लागि नगरप्रमुखको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

गौतमले एक करोड १०लाखको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो।कार्यक्रममा गल्याङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्यले ४५ दशमलब ४३ प्रतिशत जंगल क्षेत्र रहेको नेपालमा पशुपालन अझै व्यवस्थित हुन नसकेको बताउनुभयो।

गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले एनएलएसआइपी बाट भवन निर्माणका लागि गल्याङ नगरपालिका छनौट भएकोमा आभार प्रकट गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal