ट्रेन्डीङ्ग

अनुदानमा भन्दा बजारमा जोड दिन गल्याङ नगरप्रमुखको आग्रह

असार २० गल्याङ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताउनुभएको छ ।

उहाँले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टी भएमा किसान आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आइतबार भएको सिप विकासमा तरकारी खेती तालिम समापन कार्यक्रममा नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले गल्याङ नगरपालिकाले उत्पादनमा बजारको ग्यारेण्टी गरेको पनि बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘हामीले किसानलाई उत्साही बनाउनका लागि थुप्रै अनुदानका कार्यक्रम ल्याएका छौं । सँगै बजारको ग्यारेण्टी पनि गरेका छौं ।’

उहाँले अनुदानमुखी भन्दा पनि बजारमुखी कार्यक्रम सोच्नुपर्ने भन्दै त्यसमा नै अहिले जोड दिइएको बताउनुभयो । उहाँले दुधमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्थालाई पनि अहिले निरन्तरता दिइएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले कोरोना भाइरस कोभिड १९ को कारण एक वर्षमा एक अर्बको वस्तु निर्यात गर्ने योजना पुरा हुन नसकेको पनि बताउनुभयो । आगामी दिनमा तीन वर्षे र पाँच बर्षे योजना ल्याउने भन्दै उहाँले तीन बर्षमा दुई अर्बको निर्यात गर्ने योजना आफुले बनाएको पनि बताउनुभयो ।
नगरप्रमुख अधिकारीले पर्यटन र कृषि लाई जोड्नुको विकल्प नभएको भन्दै सम्बृद्व बन्नका लागि कृषि क्षेत्रलाईनै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बाख्रा,अण्डा तथा बङ्गुरमा आत्मनिर्भर बनाउने र त्यसका लागि समूह एवम् सहकारीसँग समन्वय गर्ने उहाँले बताउनुभयो ।
केही समयमा नै विपन्नहरुका लागि एक लाख चल्ला वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।नगरप्रमुख अधिकारीले अहिले पनि गल्याङमा आलु,दुध लगायतका करिब बीस करोडको निर्यात भएको भएको भन्दै अब गरिबी अन्त्यको लडाइमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दलबहादुर सिंजालीले तालिममा सिकेका सिपको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकाल, प्रशिक्षक लालकुमार शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक शम्भुनारायण अधिकारीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?