ट्रेन्डीङ्ग

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा नगर अस्पतालका लागि हाईफ्लो अक्सिजन मेसिन हस्तान्तरण

जेठ २० गल्याङ । लायन्स क्लब अफ गल्याङ सिटीले गल्याङ नगर अस्पतालका लागि हाई फ्लो अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

गल्याङ नगर अस्पतालमा गरिएको एक कार्यक्रमका वीच लायन्स क्लब अफ गल्याङ सिटीले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेको हो ।

मेसिन ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महत्वपूणर् सामान सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो -‘अहिले सबै मिलेर महामारीको सामना गर्नुपरेको अवस्था छ । सबै पक्षबाट यस्तै सहयोगको लागि म अपिल गर्न चाहान्छु ।’

नगरप्रमुख अधिकारीले विपन्न परिवारका लागि अस्पतालमा लाग्ने खर्च पूणर् रुपमा मिनाहा गर्ने गरिएको जानकारी पनि दिनुभयो । उहाँले नगरपालिकाकै श्रोतबाट अस्पताल चलाउनुपर्ने अवस्था रहेको भन्दै अक्सिजन र बेड निशुल्क गरिएको र औषधीको शुल्क मात्रै लिने गरिएको स्पष्ट पार्नुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘अस्पतालको समितिले यस बारे निणर्य गरेको छ, वास्तविक विपन्न भएमा नगर अस्पतालमा कुनै शुल्क लाग्दैन । तर पैसा हुनेहरुले विपन्नलाई बचाउनका लागि पनि यस अवस्थामा औषधीको रकम लिने निणर्य भएको छ ।’
सबै नगरवासीलाई बचाउनु नै अहिलेको मुख्य काम भएको भन्दै उहाँले यस अवस्थामा अरु कुरामा अलमलिनु भन्दा सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर महेश भट्टराईले नगर अस्पतालमा विपन्नहरुका लागि निशुल्क गरिएको भन्दै सबैभन्दा महत्वपूणर् स्वास्थ्य रहेको बताउनुभयो ।

अस्पतालका सदस्य समेत रहनुभएका भट्टराईले महामारीको मिलेर सामना गर्नुपर्ने भन्दै अन्य विषयमा अल्झिन नहुनेमा जोड दिनुभयो ।

पाँच लाख २५ हजार रुपैयाँ बराबर मुल्य पर्ने उक्त मेसिन स्याङ्जा जिल्लामा पहिलोपटक गल्याङ भित्रिएको अस्पतालका चिकित्सक निरञ्जन चौधरीले बताउनुभयो । उहाँले हाल अस्पतालमा उपलब्ध अक्सिजनले ५/६ लिटर र बढिमा १५ लिटर सम्म फ्लो गर्न सक्ने भएकोमा यो मेसिनले ६० लिटर सम्म अक्सिजन फ्लो गर्न सक्ने जानकारी दिनुभयो । यो मेसिन अक्सिजनको तह घटेर गम्भिर अवस्थामा रहेका विरामीका लागि निकै प्रभावकारी हुने उहाँको भनाई छ ।

गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर महेश भट्टराईको पहलमा उक्त मेसिन प्राप्त भएको हो ।

कार्यक्रममा लायन्स क्लब गल्याङ सिटीका सस्थापक अध्यक्ष श्यामप्रसाद बस्याल, पुर्व अध्यक्ष ओम थापा, डोल प्रसाद खरेल, वर्तमान अध्यक्ष अर्जुन बस्याल लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?