ट्रेन्डीङ्ग

गल्याङ बजारमा ३७ जनामा गरिएको परिक्षणमा ३६ जनामा नेगेटिभ,१ जना मात्र पोजिटिभ

जेठ १७ गल्याङ । स्याङ्जाको गल्याङ बजारमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा एक जना मात्रै पोजिटिभ देखिएको छ ।

गल्याङ नगरपालिकाको मुख्य बजार क्षेत्र गल्याङ बजारका स्थानीयवासीहरुका लागि गरिएको परिक्षणमा १ जनामा मात्रै नतिजा पोजिटिभ आएको हो ।


बजार क्षेत्रमा कोरोना भाइरसको अवस्थाबारे निक्र्योल गर्न गल्याङ नगरपालिकाले गल्याङको नयाँबजारमा एण्टिजिन परिक्षण गरेको थियो । गल्याङ नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परिक्षण गरेको हो ।

गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले बजार क्षेत्रमा घर घर पुगेर निशुल्क परिक्षण गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको थियो ।बजार क्षेत्र खोल्न हुने कि नहुने वा कतिसम्म खोल्ने भन्ने बारे निणर्य गर्न बजार क्षेत्रमा नै परिक्षण गरिएको उहाँले बताउनुभयो ।वडाध्यक्ष भट्टराईले केहीले परिक्षण गर्न नै नचाहेको जानकारी दिदै इच्छुकहरुलाई निशुल्क परिक्षण गरिएको बताउनुभयो ।

गल्याङ नगरपालिकामा अहिले कोरोनाको संक्रमण कमी भएको स्वाथ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो । संक्रमणको दर कमी भए पनि साबधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न भने छोड्न नहुने उहाँले बताउनुभयो ।


कोरोनाको नयाँ नयाँ भेरियण्ट आउने क्रम चलिरहेको र सुस्त गतिमा भए पनि संक्रमण फैलने क्रम रहेकाले अझै पनि उच्च साबधानी अपनाउनुपर्ने रानाको भनाई छ ।

यसअघि गल्याङ नगरपालिकाले विरामीको संख्या बढेको भन्दै गल्याङ नगरपालिकाको वडा नम्बर ११ गिनचौरमा पुगेर एण्टिजिन परिक्षण गरेको थियो सो क्रममा ६१ जनाको एण्टिजिन परिक्षण गरिएकोमा एक जनामा मात्र नतिजा पोजिटिभ देखिएको थियो । ।

आवश्यकताको आधारमा अन्य ठाउँहरुमा पनि पुगेर परिक्षण गर्ने गल्याङ नगरपालिकाले आग्रह गरेको छ । महामारी नियन्त्रणका लागि परिक्षण गर्नुपर्ने भएकाले नगरपालिकाले तोकेका ठाउँहरुमा निशुल्क परिक्षण गराई सहयोग गर्न नगरपालिकाले आह्वान गरेको छ । तर लक्षण देखिएका र नदेखिएकाहरुले समेत परिक्षण गर्न भने रुची नदेखाएको पाइएको छ ।

गल्याङ नगरपालिकाले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाएको जनाएको छ । यद्यपि सबै ठाउँमा परिक्षण गर्न माग गर्ने तर आफुले परिक्षण गर्न भने डराउने प्रबृत्ति रहेको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal