ट्रेन्डीङ्ग

गल्याङ नगरपालिकाद्वारा गाउँ गाउँमा नै पुगेर कोरोना परिक्षण सुरु

जेठ १३ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण हुने भएको छ ।

उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि गल्याङ नगरपालिकाले उक्त ठाउँमा नै पुगेर परिक्षण गर्ने भएको हो ।

अहिलेसम्म गल्याङ नगर अस्पतालमा मात्रै एण्टिजिन परिक्षण गरिएकोमा जेठ १४ गते शुक्रबार गिनचौरमा रहेको शहरी स्वास्थ्य ईकाई (केन्द्र) मा एण्टिजिन परिक्षण गरिने भएको हो ।

आवश्यकताको आधारमा अन्य गाउँहरुमा पनि पुगेर परिक्षण गरिने गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
वडा नम्बर ११ गिनचौरमा शुक्रबार कोरोनाको एण्टिजिन परिक्षण हुने
उहाँले भन्नुभयो -‘रोगको पहिचान गरी थप महामारी फैलिन नदिन नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।’

कतिपय विरामीहरु अस्पतालसम्म आइ परिक्षण गर्न अप्ठ्यारो मानिरहेको अवस्थामा गाउँमा नै पुगेर परिक्षण गर्न लागिएको अधिकारीको भनाई छ ।
साथै एण्टिजिन परिक्षण भई १४ दिन पुगेका र रिजल्ट पोजिटिभ आएकाहरुको निम्ति जेठ १५ गते पिसिआर पनि परिक्षण गरिने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले महामारीलाई कम गर्न नगरपालिकाले विभिन्न उपायहरु अपनाउने तयारी अन्तरगत सक्रियताका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि नगरपालिकाले आवश्यकताका आधारमा थप सक्रियता देखाउने बताउनुभयो ।

शर्माले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाईएको जानकारी दिनुभयो ।

गल्याङ नगरपालिकाको बजार क्षेत्रमा पछिल्लो समय कोरोनाको संक्रमणमा कमी भएपनि केही ग्रामिण क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको भन्दै नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?