ट्रेन्डीङ्ग

संस्मरण : मेरी आमा र पितृसत्तात्मक समाज

नवलपरासी । ‘उही छोरी त होला नि ?’-ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो ।सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना…उही थाप्रे त होला नि’ यो सुन्दा बुवाको मन अमिलो हुने नै भयो । यिनै ‘ताना’ ले आमा रुनुहुदो रहेछ। पंचायती सामाजिक परिबेशका यी कुरा मलाई बाल्यकालमै बाआमाबाट सुनाइएका हुन । काँध हाल्न छोरा चाहिने कुराले बुवालाई निकै पिरोल्दो रहेछ ।बुवाहरु चारमध्ये त्यसबेला सम्म सबैका छोरा भईसकेका रहेछन् ।’आइतवारको सुर्य ब्रत गरेर पाएको हो । तेराँ लागि यति त गरिएन ।’ जब बाआमालाई कुनै गुनासो गर्न मैले ठाँउ दिए भने यस्तै सुन्नुर्पथ्यो ।’यही दिन देख्न रैछ । छोरा जन्माएको ।’

जब म जन्मे । दिदीहरु गदगद् भएछन् । उनीहरुले मलाई भुईमै राख्न नदिएर हुर्काउएको रे । ‘ सेतीले त हातमै हगाउँथी ’ – घर पल्तिरका अधिकारी राँइला बुवा आमाले भनेको याद छ – ‘ तँ जन्मिस् बहुत चाख भयो । छोरी छोरी
मूनिको एउटा भाई ।’
म माथिका तीन दिदी म भन्दा तलका २ बहिनी मैले जानेको मात्र।
आमाले भन्नुहुन्थ्यो – ‘बाह्रवटा पाएको ज्यान हो । अझ दुःख गर्नै लेखेको रैछ ।मेराबारे मेरो जन्मस्थल हालको बर्दघाट–२ चिसापानी एक नम्बर बल्कमा एउटा किस्सा अझै छ । ‘ल बरालको छोरा आयो’ । सानामा यो कुरा सुन्दा म धेरै संग झगडा गरेको घटना पनि ताजै छ । छोरी पछि छोरी पाएको भनेर हेप्ने समाजले मेरो जन्मलाई पनि ठट्टा गरेछ । अनि एक रुपैयामा मलाई बराल बुवा
आमासंग किनेर ल्याएको रे।उहाँहरुलाई मैले अझै पनि धर्मबुवा आमा मान्दै आएको छु ।

ठूली दिदी राधालाई गाउलेहरु अझै सेती भन्छन् । अनि मलाई दिनेश । यी हाम्रा बोलाउने नाम हुन । उँ बेला तीनवटा नाम दिने चलन थियो ।अझै पनि मलाई रवि भनेर नचिन्ने गाउँलेहरु पनि छन् । ‘ डाडाँखर्के जेठो दिनेश के?’कसैले दोहोयाएर सोध्यो भने अझै पनि छिमेकीहरु भन्ने गर्छन । मेरो जन्मले मावली तर्फ पनि खुसी छरेको रे । बि.स. २०५५ मा भाई जन्मे पछि म जेठो भएको हो ।हाम्रो मुलथलो गुल्मी जिल्लाको हर्मिचौर डाडाँखर्क । हाम्रो परिवार २०३४ सालमा हालको सुनवलस्थित मच्छरमाराबाट तत्कालीन माकर- २ चिसापानीमा
सुकुम्बासी आएको परिवार हो । ठुली दिदी सेती ( राधा ) उतै जन्मिएको र हामी बाँकी सबै यहाँ आइसकेपछि जन्मेका हौं । मलाई सानैमा बाआमाले गुल्मी लैजानुभएको थियो रे । मैले सम्झेको छैन । मलाई बुवाले काँधमा राखेर राम्दी लगेको भने मधुरो याद छ । पाल्पा भुसालडाँडा मिसन अस्पतालमा उपचारका लागि जादाँ रातिमा कुकुरले लखेटेको र कुनै घरमा गएर बास मागेको याद छ । त्यो बाटो धुलाम्य थियो । सायद बाटो बन्दै भएर होला । त्यति बेला मलाई जन्डिस भएर बुवाले लैजानुभएको रैछ । ‘छोरा होस’ भनेर रिडी ऋषिश्वरसंग भाकल गरेको रे । त्यही भाकल पुरा गर्न बुवाले मलाई रिडी पुर्याउनु भएछ ।
मेरोभाई जन्मिदाँ म १४ बर्षको थिएँ । बुवा ६२ बर्षको । आमाले के पाउनु भएछ नानी ‘ आरने आमाले मलाई सोध्दाँ भाई पाउनुभयो भनेर मैले छाती
पिटेछू । त्यो उमेरमा मलाई छाती पिट्न कसले सिकायो ? मैले अहिले पनि सोच्छु । छोरा प्रति छाती पिटने समाज छोरी जन्मिदा किन छाती पिट्दैन ?
किन अबिर लगाउदैन । यो मानसिक रोगबाट किन उठ्दैन मान्छे ?भाई जन्मेपछि पनि समाजले बालाई लखेट्यो ।’ एँ ६० बर्ष पछि पनि जाय जन्म हुँदो रैछ’मेरो वुबाको उमेर प्रति गरेको ब्यंग मेरो मस्तिष्कमा नहुने कुरै भएन । बाँ ६२को हुदाँ भाई जन्मिनुमा मेरा बाआमाको के अपराध ?

म सोच्थे ।आमाले’फलानीले यो भनि,फलानोले यो भन्यो’भन्दै सुनाउनुहुन्थ्यो ।बुवा २०६६ मा बित्नु भो । आमा २०७७ मा । आमा बुवाबीच २२ बर्षको फरक थियो । बाआमाले बाच्न र हामीलाई बचाउन गरेको संर्घष कम्ता कष्टकर
छैनन । बा वित्दा म रोइँन । रुने मौकै मिलेन । जिम्मेवारीले रुन पनि दिदो रैनछ । मुटुमा गाठो पार्दाेरैछ । यही २०७७ फागुन १९ मा आमा जानुभयो ।

आमा खसेपछि आमाका राजनैतिक सामाजिक योगदानको चर्चा भए । श्रद्धाञ्जली
भयो । आमाको श्रम प्रतिको आस्थाको निकै प्रंसशा भयो ।तर, मेरी आमालाई छोरो नपाएकै भरमा लान्छना लगाउने पितृसत्तात्मक
समाजले आमाको मुख हेर्ने औशी मनाउदैछ । छोरो पाउन नसकेको कारण मेरो बुवालाई ‘नार्मद’ बनाउने पितृसत्ताले बुवाको मुख हेर्ने दिनलाई ‘फादर्सडे’को रुपमा मनाउने गर्छ ।

तर,अहिले पनि छोरीहरु गर्भमै मर्छन । भबिष्यका आमाहरु गर्भमै फालिन्छन । अनि फगत आमा औशी मनाएको के काम ? त्यसैले पितृसत्ताको अन्त्य विना आमा औशी मनाउनु बेकार छ । आमालाई एक दिन सम्झनु भन्दा आमाहरुको
सुरक्षाका लागि समाजले ध्यान दिनुपर्ने होइन र ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?