
म एक विद्यार्थी नेता, क्याम्पसमा राजनीति गर्छु। सडकमा नारा लगाउँछु। बहस गर्छु।र जब सरकार “शान्तिपूर्ण निर्वाचन” को कुरा गर्छ, म एउटा साधारण प्रश्न सोध्छु-यदि चुनाव यति नै शान्तिपूर्ण छ भने विचार राख्ने मान्छेलाई किन पक्राउ गरिन्छ?
अधिवक्ता र जेन्जि अभियान्तालाई पक्राउ गर्नु केवल व्यक्तिमाथिको कारबाही होइन। यो हरेक सचेत नागरिक माथि सन्देश हो – “तिमीले धेरै प्रश्न नगर।” तर विद्यार्थीको स्वभाव नै प्रश्न गर्नु हो। यदि हामीले प्रश्न गर्न छोड्यौँ भने क्याम्पस केवल सर्टिफिकेट दिने कारखाना बन्छ, चेतना उत्पादन गर्ने ठाउँ हुँदैन।
हामीले सानैदेखि सिकेका छौँ -लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार हुन्छ। तर आज देखिँदैछ, बोल्ने अधिकार कागजमा छ, व्यवहारमा छैन। सरकार चुनावको नारा दिन्छ, तर चुनावको आलोचना गर्ने अधिकार मान्दैन। यो विरोधाभास होइन भने के हो? म क्याम्पसमा विद्यार्थीहरूको समस्या सुन्छु। बेरोजगारीको डर। महँगो शिक्षा। छात्रवृत्ति नपाउने पीडा। किसानका छोराछोरी पढ्न नसक्ने अवस्था। यी समस्या वर्षौँदेखि छन्। हरेक चुनावपछि “अब परिवर्तन हुन्छ” भनिन्छ। तर परिवर्तन कहाँ छ?
हामीलाई भनिन्छ -मतदान गर, लोकतन्त्र बलियो हुन्छ। तर लोकतन्त्र बलियो त तब हुन्छ जब जनताको आवाज बलियो हुन्छ। यदि चुनाव भनेको पाँच वर्षमा एक दिनको औपचारिकता मात्र हो भने त्यो लोकतन्त्र अधूरो हो। अपुरो हो। यही कारणले हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), ले संसदीय चुनाव बहिष्कारको अनि अघि सारेको छ। हामीलाई सत्ताको कुर्सीको मोह छैन। हामीलाई व्यवस्था परिवर्तनको चिन्ता छ। हाम्रो पहिलो कुरा स्पष्ट छ – अहिलेको संसदीय अभ्यासले जनताको वास्तविक सत्ता स्थापित गर्न सकेको छैन।
दल बदलिन्छन्, अनुहार बदलिन्छन्, तर नीति उही रहन्छ। विदेशी ऋण, विदेशी प्रभाव, निजीकरणको दबाब, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण। एक विद्यार्थीको हैसियतले म सोध्छु – यदि हाम्रो देशको आर्थिक नीति नै बाहिरबाट प्रभावित छ भने चुनावले के परिवर्तन ल्याउँछ? जनताले मत हाल्छन्, तर निर्णय अरूले गर्छन् भने त्यो कस्तो सार्वभौमसत्ता? हामीले जनसंविधानको कुरा उठाएका छौँ। जनसंविधान भनेको किताबको पाना मात्र होइन। यो जनताको प्रत्यक्ष सहभागिता हो। गाउँदेखि केन्द्रसम्म निर्णय प्रक्रियामा जनताको सक्रिय भूमिका हो। अहिले संविधानमा राम्रो कुरा लेखिएको होला ,तर व्यवहारमा जनताको पहुँच सीमित छ। हामी सर्वपक्षीय राजनीतिक सम्मेलनको प्रस्ताव गर्छौँ।
किनकि देश संकटमा छ भने समाधान पनि व्यापक हुनुपर्छ। सबै राजनीतिक शक्ति, बामपन्थी ,नागरिक समाज, बुद्धिजीवी, विद्यार्थी र श्रमिकहरू मिलेर नयाँ बाटो खोज्नुपर्छ। चुनाव मात्र समाधान होइन। हामी स्वाधीन संयुक्त सरकारको कुरा गर्छौँ। यसको अर्थ हो — राष्ट्रिय स्वाभिमानमा आधारित नीति। कसैको इशारामा होइन, आफ्नै जनताको आवश्यकतामा आधारित निर्णय। विद्यार्थीका रूपमा हामी देख्छौँ, रोजगारीको अवसर कम छ, उद्योग कमजोर छन्, युवा विदेश पलायन भइरहेका छन्। यो केवल व्यक्तिगत असफलता होइन, नीतिगत असफलता हो।
अब प्रश्न उठ्छ-चुनाव बहिष्कार किन? बहिष्कार भनेको भाग्नु होइन। बहिष्कार भनेको असहमति व्यक्त गर्ने राजनीतिक तरिका हो। हामी भन्छौँ, नियम नै जनताको पक्षमा छैन भने त्यसलाई चुनौती दिनुपर्छ। हामी हिंसाको पक्षमा छैनौँ। हामी जनचेतनाको पक्षमा छौँ। हाम्रो आन्दोलन वैचारिक छ। तर सरकार आलोचना सुन्न तयार छैन भने त्यो सरकार बलियो होइन, लाचार हो। अधिवक्ता र अभियान्तालाई पक्राउ गर्नुले के सन्देश दिन्छ? यसले देखाउँछ कि सरकार बहसबाट डराएको छ। यदि सरकार आफ्नो नीति र चुनाव प्रक्रियामा विश्वस्त छ भने उसले आलोचकलाई जेल होइन, बहसको टेबलमा बोलाउनुपर्छ।
विद्यार्थी आन्दोलन सधैँ देशको परिवर्तनको अग्रभागमा रहेको छ। इतिहास साक्षी छ, जब जब व्यवस्था अन्यायपूर्ण भयो, विद्यार्थीले प्रश्न उठाए। आज फेरि त्यही मोडमा उभिएका छौँ। हामीलाई थाहा छ, चुनाव बहिष्कार सजिलो बाटो होइन। धेरैले आलोचना गर्नेगर्छन्। तर हामी लोकप्रियताका लागि होइन, सिद्धान्तमा आधारित राजनीति गर्छौँ। यदि अहिलेको संसदीय अभ्यासले जनताको आधारभूत समस्या समाधान गर्न सक्दैन भने त्यसलाई चुनौती दिनु नै इमानदार राजनीति हो। हाम्रो माग सरल छ -जनताको वास्तविक सत्ता स्थापना होस्।
राष्ट्रिय स्वाधीनता सुरक्षित होस्। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी होस् राजनीति व्यापारीकरणबाट मुक्त होस्। हामी विद्यार्थी हौँ। हाम्रो भविष्य दाउमा छ। यदि आजको चुनावले भोलिको हाम्रो जीवन सुधार्न सक्दैन भने हामी किन मौन बस्ने? “शान्तिपूर्ण निर्वाचन” को नारा केवल भाषणमा सीमित नहोस्। असहमतिको सम्मान होस्। बहस खुला होस्। राज्यले जेलको होइन, संवादको बाटो रोजोस्। आज संसदीय चुनाव बहिष्कार हाम्रो लागि केवल रणनीति होइन, राजनीतिक चेतना हो। यो व्यवस्था परिवर्तनको आह्वान हो। अन्त्यमा, म विद्यार्थी साथीहरूलाई भन्न चाहन्छु -राजनीति केवल नेताहरूको काम होइन। यो हाम्रो भविष्यको प्रश्न हो। यदि हामी चुप लाग्यौँ भने अरूले हाम्रो भविष्य तय गर्नेछन्। त्यसैले आज प्रश्न गर्नुपर्छ। बहस गर्नुपर्छ। सचेत हुनुपर्छ। र यदि व्यवस्था नै जनताको पक्षमा छैन भने त्यसलाई परिवर्तन गर्न साहस देखाउनुपर्छ।
किनकि साँचो लोकतन्त्र डरबाट होइन, साहसबाट बन्छ।
लेखक: संदेश सापकोटा ( अखिल क्रान्तिकारी) लुम्बिनी संयोजक











