
पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११मा अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा तथा सुनवल नगरपालिका–११ का वडा अध्यक्ष कमल चुवाई प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चुवाईले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यसको दीगो सुनिश्चितताका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेको बताए।
उनले खानेपानी तथा सरसफाइ जस्ता जीवनोपयोगी आयोजनामा उपभोक्ता समिति, स्थानीय सरकार र समुदायको सहकार्य भएमा सेवा अझ प्रभावकारी र दीर्घकालीन हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपभोक्ता शिवराम न्यौपाने,सुनवल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव मुक्ति बहादुर भण्डारी तथा डम्बरबार सामुदायिक वनका अध्यक्ष टंक पराजुलीले आ-आफ्ना धारणा राखको सस्थाका सचीव केशवकान्त न्यौपानेले जानकारी दिए।
कार्यक्रममा अध्यक्ष,सचिव,कोषाध्यक्ष जगतराम कँडेलले आर्थिक र लेखा समिति संयोजक टंक प्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको उपाध्यक्ष बिष्णु प्रसाद लामिछानेले जानकारी दिए।
खानेपानीको कार्यक्षेत्र सुनवल नगरपालिका-११ र १२ तथा सरावल गाउँपालिका-२ रहेको छ।साधारणसभाको अवसरमा राहत कोषदाता तथा चन्दादातालाई सम्मानसमेत गरिएको थियो।










