
बुटवल।बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विश्वकै सबैभन्दा खुसी व्यक्तिको अनुभूति आफूलाई भएको बताएका छन्।
स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित शैक्षिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक, सामाजिक र व्यावहारिक उत्कृष्टताप्रति गौरव व्यक्त गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
क्याम्पस प्रमुख पाठकका अनुसार बुटवल कालिका क्याम्पसका विद्यार्थीहरू पठनपाठनमा मात्र नभई सिप, अनुभव र अनुशासनमा पनि अब्बल छन्। “विद्यार्थीहरूले हरेक क्षेत्रमा दिएको योगदान र देखाएको उपलब्धिले मलाई संसारकै खुसी व्यक्ति बनाएको छ,” प्रमुख पाठकले भने। साथै उनले नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पसको आचारसंहिताभित्र रहेर आफ्नो लक्ष्य पूरा गर्न प्रेरित गराए।
सहायक क्याम्पस प्रमुख महेश पाण्डेले कार्यक्रममा विद्यार्थीहरूलाई उच्च मनोबल, प्रतिबद्धता र अनुशासनका साथ अध्ययनमा समर्पित हुन आग्रह गरे। उनले पठनपाठनका सवालमा क्याम्पस कहिल्यै सम्झौता नगर्ने स्पष्ट सन्देश दिए।
त्यस्तै बिबिएस संयोजक बुद्धिराम चौधरीले विद्यार्थीहरूको ज्ञान, सिप र व्यवहारलाई उत्कृष्ट शैक्षिक अभ्यासमार्फत थप सबल बनाउनुपर्नेमा जोड दिए। उनले विद्यार्थीलाई प्रतिस्पर्धात्मक परिवेशमा अघि बढ्न निरन्तर प्रयासरत रहन आग्रह गरे।
कार्यक्रममा लिएमएस प्रणालीबारे जानकारी दिँदै आइटी प्रमुख गणेशले पठनपाठन डिजिटलाइज मोडेलमा पनि उपलब्ध हुने बताए।
अभिमुखीकरण कार्यक्रममा बिबिएस, बिएड र बिएसड्ब्लु। मा भर्ना भएका विद्यार्थीहरू साथै प्राध्यापकहरूको सहभागिता थियो। क्याम्पसले भर्ना कार्यक्रम भने निरन्तर जारी रहेको जनाएको छ।