ट्रेन्डीङ्ग

रविन्द्र मिश्रलाई हतकडी लगाएर इतिहास रोकिन्न

राजनीति केवल सत्ताको लडाइँ होइन, विचार र मूल्यको सङ्घर्ष हो । यही मूल्यमाथि प्रश्न उठाउनेहरूलाई दमन गर्ने प्रवृत्ति कहिल्यै लोकतन्त्रको पक्षमा हुँदैन। पछिल्ला दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रामाथि गरिएको व्यवहार त्यसैको ज्वलन्त उदाहरण बनेको छ।

पूर्व पत्रकार, नीति–विश्लेषक र सार्वजनिक जीवनमा विवेकशील धारणा बोकेका मिश्रलाई सडक आन्दोलनको क्रममा लगाइएको हतकडीले नेपाली राज्य संयन्त्रको साँघुरो मानसिकता उजागर गरेको छ। उनले बोकेको सन्देश कति सही वा गलत भन्ने बहसको विषय हुन सक्छ, तर उनले विचार राख्ने अधिकार प्रयोग गर्दा राज्यको प्रतिकृया यस्तो हुनु गम्भीर राजनीतिक चिन्ता हो।

हतकडी केवल एउटा व्यक्तिमा प्रयोग गरिएको यान्त्रिक उपकरण होइन। त्यो सत्तासंरचनाको असहिष्णुताको सकेत हो। रविन्द्र मिश्रको हतकडीमा आम नागरिकले देखेका छन विचारमाथि प्रतिबन्ध, बहसमाथि सङ्कोच, र सहमतिभन्दा बढी प्रतिशोध। यो केवल उनको राजनीतिक यात्रुमाथिको अवरोध होइन, यो सम्पूर्ण लोकतान्त्रिक अभ्यास माथिको खतरा हो। हतकडी केवल मिश्रको हातमा मात्र थिएन। त्यो हतकडी थियो अभिव्यक्ति स्वतन्त्रतामाथि, लोकतान्त्रिक सहिष्णुता माथि र विपक्षी विचारप्रति सहनशीलताको अभावमाथिको गहिरो प्रहार। यस्तो दृश्यले आजको नेपालमा पनि सत्ता संरचना असहमतिको आवाजसँग कति असहज छ भन्ने कुरा प्रमाणित गर्छ।

राज्यले बुझ्नुपर्छ-हतकडीको हिसाब महँगो पर्न सक्छ। आज एक नेताको हात बाँधियो, भोलि विचार बाँध्न खोजिन्छ। र, अन्ततः त्यो अवस्था आउनेछ जब जनताले प्रश्न गर्छन्-के हामीले यस्तो राज्यको परिकल्पना गरेका थियौं? त्यस्तो प्रश्नको उत्तर सत्तामा बस्नेहरूले कागज र भाषणबाट होइन, नैतिकता र जवाफदेहिताबाट दिनुपर्ने हुन्छ। कतिपटक म्याद थप गरेर, कानुनी प्रक्रिया लम्ब्याएर वा हतकडी देखाएर जनताको चेतनालाई दमन गर्न सकिँदैन। बरु, यस्तो प्रतिकारको हिसाब राज्यलाई राजनीतिक, नैतिक र ऐतिहासिक दृष्टिले निकै महँगो पर्न सक्छ। किनभने जनताले सबैकुरा सम्झन्छन् कतिबेला कसको मुख बन्द गरियो, कसको हात बाँधियो, र कसको प्रश्न सुनिनँ।

लोकतन्त्र प्रतिरोधले बाँच्दछ। आज रविन्द्र मिश्रामाथि गरिएको व्यवहारले भोलिका असङ्ख्य विचारशील नागरिकहरूलाई डर होइन, चेतनाको आँधीमा रूपान्तरण गरिदिन सक्छ। यो घटनाले राज्यलाई त्यही चेतावनी दिइरहेको छ-हतकडी लगाएर इतिहास रोकिन्न।(लेखक केशबराज खानाल राप्रपाका केन्द्रीय सदस्य हुन।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?