ट्रेन्डीङ्ग

नेपाल तमू विद्यार्थी छोंज धीं नवलपरासीको अध्यक्षमा सोम तमू चयन

सुनवल।नेपाल तमू विद्यार्थी छोंज धीं, नवलपरासीको अध्यक्षमा सोम तमू सर्वसम्मत चयन भएका छन। सुनवल-४ स्थित तमू प्रतिष्ठान सभाहलमा सम्पन्न साधारण सभाले सोम तमूलाई अध्यक्ष पदमा चयन गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य मिलन तमूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै संगठनलाई थप सशक्त बनाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले युवाहरूको सक्रियता र नेतृत्व विकास संस्थाको सुदृढीकरणको आधार भएको बताए।

यसअघि, ८औं जिल्ला अधिवेशनबाट सोम तमू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष खेम तमू उच्च शिक्षाका लागि जापान गएपछि व्यक्तिगत व्यस्तताका कारण पुस ९ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। पुस १० गते बसेको कार्यसमितिको विशेष बैठकले उक्त राजीनामा स्वीकृत गरेको थियो।

सचिव सुजन तमूका अनुसार, “अध्यक्ष ज्यूले राजीनामा दिएपछि हामीले नयाँ अध्यक्षमा सोम तमूलाई सर्वसम्मत चयन गरेका हौं। नयाँ अध्यक्ष चयनसँगै पुरानो कार्यसमिति यथावत रहने छ।”

नयाँ अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै सोम तमूले संगठनलाई थप सक्रिय, सशक्त, र युवा लक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले तमू विद्यार्थी समुदायको हकहितका लागि नयाँ योजनाहरू अगाडि सार्ने र संगठनलाई सबै क्षेत्रका विद्यार्थीहरूको साझा मञ्चका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताए।

नेपाल तमू विद्यार्थी छोंज धीं तमूहरूको साझा संस्था हो,जसले तमू विद्यार्थीहरूको हक, अधिकारको संरक्षण गर्नुका साथै तमू धर्म, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। संस्थाको मुख्य उद्देश्य तमू समुदायको ऐतिहासिक, सांस्कृतिक, र धार्मिक सम्पदालाई जोगाउँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु र तमू विद्यार्थीहरूलाई शिक्षामा प्रेरित र सशक्त बनाउने हो उनले भने।

साधारण सभामा विभिन्न सदस्यहरूले संगठनका आगामी गतिविधिहरू, चुनौतीहरू, र अवसरबारे आफ्ना धारणा राखेका थिए।

नयाँ नेतृत्व चयनसँगै संगठनले आगामी कार्यकालका लागि थप प्रभावकारी योजनाहरू अघि बढाउने विश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?