नेपाली राजनीतिक इतिहासलाई नियालेर अध्ययन गर्दा करिब-करिब ७० वर्षको दौरानमा नेपाली जनताले धेरै संघर्षमानै आफ्नो जीवन बिताउन परेको देखिन्छ । जनताको अधिकार सुनिश्चित गर्ने बहानामा नेपालमा धेरै पटक आन्दोलन हुँदा धेरै नेपाली नागरिकले ज्यान गुमाउनु पर्यो।कहिले राणा शासनका विरुद्धमा,कहिले पञ्चायतका विरुद्धमा,कहिले प्रजातन्त्र प्राप्तका लागि त कहिले लोकतन्त्रका लागि आन्दोलनमा ज्यान गुमाउन पुगेकालाई सहिद शब्दमा बाहेक अरु केही सम्बोधन अहीलेसम्म पनि गरेको पाइँदैन । आन्दोलनका क्रममा कति बालबालिका अभिभावक विहिन भए,कति बाबुआमा सन्तान विहिन भए, कति नागरिक घाइते अपाङ्ग बनेर कष्टकर जीवनयापन गर्न बाध्य भए कुनै लेखाजोखा गरिएको कहि कतै भेटिदैँन।
विभिन्न आन्दोलन पश्चात् नेपालमा राजनीतिक परिवर्तनका साथै सत्ता परिवर्तन हुँदा समेत सत्ताका वरिपरि उनै पुराना अनुहारको नै वर्चस्व कायम रह्यो।विश्व राजनीतिक इतिहासलाई हेर्दा राजनीतिक परिवर्तनसँगै सत्ताको उच्च तहमा नयाँ–नयाँ अनूहारहरु आएको भेटीन्छन । बीडम्बना!हाम्रो नेपालको सत्तामा नयाँ अनुहार कहिले देखिएन । मैले राजनीतिको बारेमा जानेदेखि अहिलेसम्म उनै अनुहारहरुनै सत्तामा पुग्नको लागि कुनै कसर बाँकी नराखी कुस्ती खेलिरहेका छन।
युवाहरूले नेपाली राजनीतिमा सत्ताको उच्च पद तथा नेतृत्वमा कहिले पनि अवसरहरु पाउन सकेका छैनन्।अवसर र जिम्मेवारी प्राप्त गरेपनि लामो समय टिक्न दिइन्न । कहिले राणा शासन हटे विकास हुन्छ भनियो ,कहिले प्रजातन्त्र आए विकास हुन्छ भनियो,कहिले बन्दुकले सत्तानै कब्जा गरेर देशको विकास हुन्छ भनियो,कहिले राजतन्त्र हटाएर गणतन्त्र आएपछि विकास हुन्छ भनियो,कहिले संविधान सभाको चुनाव गरी संविधान जारी भएपछी विकास हुन्छ भनियो तर नेपालमा राणा शासन पनि हट्यो,प्रजातन्त्र पनि आयो,बन्दुकले सत्ता कब्जा गर्छौ भन्नेहरु पनि सत्तामा पुगे,एतिहासिक राजतन्त्र हट्यो, गणतन्त्र आयो,संविधान पनि बन्यो तर देशको विकास किन भएन,नेपाली नागरिकले सजिलो सङ्ग किन आफ्नो छाक टार्न सकेका छैनन्। यो विषयमा गम्भीरता पुर्वक सोँच्नुपर्ने समय आएको छ।
नेपालमा २०४६ सालपछिका प्रधानमन्त्रीको उमेर हेर्दा कृष्णप्रसाद भट्टराई ७५ वर्षमा पछिल्लो पटक, गिरिजाप्रसाद कोइराला ८४ वर्ष , मनमोहन अधिकारी ७४ वर्ष , शेरबहादुर देउवा ७१ वर्ष , लोकेन्द्रबहादुर चन्द ५७ वर्ष , सूर्यबहादुर थापा ५७ वर्ष , पुष्पकमल दाहाल ५४ वर्ष , माधब नेपाल ५७ वर्ष , बाबुराम भट्टराई ५७ वर्ष , झलनाथ खनाल ६१ वर्ष र खडकप्रसाद ओली ६४ वर्षको उमेरमा प्रधानमन्त्री भएका छन । उमेर पुगेकाहरुले राज्यको बागडोर सम्हाल्न हुदैन् र सक्दैनन् भन्ने यो पंक्तिकारको भनाई होईन। भनाई मात्र यो हो कि नेताहरुको देशमा राणा शासन र पंचायत शासन फ्याकेर देशमा लोकतन्त्र ल्याउनमा ठूलो भूमिका रह्यो। नेताहरुले गरेका योगदान र बलिदानका कारण हामीले नेपाली भनेर गर्ब गर्न सकेका छौं। यसको श्रेय हाम्रा नेताहरुलाई जान्छ । कुरा यति मात्र हो अब नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नयाँ युवापुस्तालाई सत्ता हस्तान्तरण गर्न सक्लान जस्तो उनीहरुको गतिविधिबाट देखिँदैन।
नेपाली नागरिकले नेपालको विकासको लागि पुराना सबै राजनीतिक दललाई पटक–पटक सत्तामा पुर्याए अब जनतासँग कुनैपनि विकल्पनै छैन।सत्तालाई मात्र सर्वेसर्वा मान्ने हाम्रो नेताले हाम्रो देशलाई पछिल्लो अवस्थामा झन्–झन् दलदलमा फसाउन खोजेका छन् । नेताको स्वार्थअनुसार नहुदा संविधान सभाको निर्वाचन दुई–दुई पटक गर्नुपर्ने बाध्यता पनि बनाए । जेनतेन संविधान जारी गरी स्थानीय तह लगायत प्रदेश र संघिय निर्वाचन सम्पन्न भई देशले स्थिर सरकार पाउने झिनो आशा जनतामा पलाएको थियो । तर, अहिले स्थिर सरकारको कल्पना गरेका नागरिकले अहिलेसम्म नेपाली राजनीतिक इतिहासमा नै नभएका नाटक गर्ने सरकारको रवैँया हेरेर बस्नुको विकल्प नै भएन ।
स्थिरता भयो भने यीनै दलबाट पार लाग्छ कि भन्ने भ्रम पनि टुट्यो। अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको स्पष्ट एजेण्डासहित वैकल्पिक शक्तिको बलियो उपस्थिति नै समाधान हो। अहिलेको राजनीतिक व्यवस्था र देशलाई सिस्टममा काम गर्नको लागि योग्य र सक्षम मान्छेलाई जिम्मेवारी दिन कुनै पनि नेताले सक्दो रहेनछ। यो स्पष्ट देखिएको छ। अब हामीले यो मनन गरेर आँफै विकल्प बन्न ढिलो गर्नु हुँदैन।अरुले गरिदिन्छ कि भनेर बस्यौ भने झन झन पछि परिने यथार्थ हो । त्यसैले अब ढिलो नगरौं अहिलेसम्म भएका राजनीतिक घटनालाई प्रयोगात्मकको रुपमा ग्रहण गरि त्यो भन्दा फरक ढङ्गले अगाडि बढौं ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ५ पटकसम्म प्रधानमन्त्री बन्नुभयो। फेरि प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ फोटो झुण्डाउने बाहेक उहाँको कार्यकालमा देशलाई फाइदा हुने काम के के भए?चौथो कार्यकालमा पनि उहाँले के काम गर्ने समय पुगेन र फेरि उहलाई प्रधानमन्त्री बनाउन नेपाली काङ्ग्रेस मरिहत्ते गरेको छ?
बन्दुकले तर्साएर,हजारौं नेपाली जनतालाई मारी सत्ता कब्जा गर्ने अठोट गरि एकाएक नेपाली राजनीतिमा छलाङ्ग मार्ने पुष्पकमल दाहाल ज्यू पनि पटक-पटक नेपालको प्रधानमन्त्री हुनुभयो।उहाँले आफ्नो कार्यकालमा के त्यस्तो काम गर्नु भयो? फेरि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पाउने अवस्थामा उहाँपनि प्रधानमन्त्री हुने लाइनमा नै हुनुहुन्छ।
नेकपा एमालेको नेतृत्वमा १५ वर्षसम्म रहि नेपालको प्रधानमन्त्री हुनु भएका माधवकुमार नेपाल फेरि के गर्न प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ ? उहाँको कार्यकालमा जनता र देशलाई हित हुने कुन कुन काम गर्न समय नपुगेर उहाँ फेरि प्रधानमन्त्री बन्नु पर्ने ?नेकपा एमाले पुर्व अध्यक्ष झलनाथ खनाल पनि प्रधानमन्त्री बन्नुभयो उहाँको कार्यकालमा के काम गर्नु भयो देशको लागि ?
नेपालमा द्वन्द्वगरि सत्ता कब्जा गर्ने भनी भूमिगत भई हजारौं सर्वसाधारण नेपाली नागरिकको हत्यागरी, विभिन्न विवादित अभिव्यक्ति दिने, विभिन्न पार्टीमा चाहार्दै हिड्नु भएका विद्वान नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुनुभयो।अब फेरि उहाँलाई किन प्रधानमन्त्री बनाउने ? पटक पटक प्रधानमन्त्री बन्नु भएका खड्क प्रसाद ओलीले देशलाई कुन अवस्थामा पुर्याउनु भयो, सर्वविधितै छ । दुई तिहाइको प्रधानमन्त्री बनेका ओलीले पनि देश र नेपाली जनताका पक्षमा रातो कलम चलाउने अवसर गुमाउनु भयो।उहाँलाई फेरि किन प्रधानमन्त्री बनाउने ?
यिनी पुराना पार्टीका युवा नेताहरु तपाइँहरु यस्ता अनैतिक क्रियाकलापका विरुद्धमा किन आवाज उठाउन सक्नु हुँदैन तपाईंको नेता भएकोले हो ? कहिलेसम्म मौन बसेर आफ्नो पद बचाइरहनु हुन्छ ? किन गलत ब्यक्तिका विरुद्धमा विद्रोह गर्न सक्नु भएन ? भोलिका दिनमा देश नै रहेन भने तपाइँहरुको बुढेसकालमा प्रधानमन्त्री बन्ने सपना पूरा नहुन सक्छ।त्यसैले एकपटक गम्भीरतापुर्वक सोचौं यो देश अत्यन्तै गम्भीर अवस्थामा छ अहिले पार्टीलाई सर्वेसर्वा नठानौं।देशलाई बचाउन सबै युवाहरू एकजुट बनौं।
अहिलेसम्म धेरै राजनीतिक दललाई सत्तामा पुर्याएका हामी अब गम्भीर बनेर राम्रा र विज्ञ ब्यक्तिहरुलाई राज्यको नेतृत्वमा पुर्याएर हेरौं पक्कै पनि अहिलेसम्मकोभन्दा फरक रिजल्ट आउने छ।वैकल्पिक शक्ति बनेर अगाडि बढौ अवस्य पनि हाम्रो जीवन कालमा यो देशलाई परिवर्तन गर्न सकिने छ । अबको राजनीतीलाई ४५ वर्ष मुनिका युवाहरूले हाँक्नु पर्छ । अनि बल्ल राजनीतिक नेतृत्वको ट्रयाक मिल्दछ । अब विकल्प खोज्नु भन्दापनि आफू नै विकल्प बनौं । बाहिरबाट कोहि आएर हाम्रो देश कायापलट बनाउदैनन हामि नेपालिले नै बनाउने हो,त्यसैले देश बनाउने अभियानमा युवाले बिद्रोह गर्न सक्नुपर्छ । सवैभन्दा प्राथमिकतामा देशलाई राखौं,अहिलेपनि हामी अगाडि बढ्न सकेनौं भने भोलिको दिनहरू अझ कष्टकर बन्नेछन।
केशवराज खनाल
सुनवल-६ नवलपरासी