ट्रेन्डीङ्ग

विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै सुस्ता

परासी ।नारायणी नदीमा पुल निर्माण भएसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ नारायणीपारिको सुस्ता बस्ती विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ ।

तीनतर्फ नारायणी नदी र एकातर्फ भारत रहेको यस बस्तीमा नारायणी नदीमा पोल विस्तार हुन नसक्दा विद्युतीकरण हुन सकेको थिएन । सोलार प्यानलको ग्रिडमार्फत सुस्ताबासीले बत्ती बालेको भए पनि अन्य प्रयोजनका लागि सुस्तामा विद्युतीकरण आवश्यक भएको भन्दै पुलमार्फत बिजुली सुस्ता पुर्‍याउन लागिएको हो ।

१ हजार ५ सय ७१ मिटर लामो पुलमार्फत बिजुलीको तार विस्तार गरेर सुस्तालाई विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनसँग जोड्न लागेको विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताए ।

त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । तार तान्ने काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । एम डी राजा निर्माण सेवाले १ करोड ३० लाखको लागतमा विद्युत् लाइन विस्तारको काम गरिरहेको छ । सोलारमार्फत विद्युतीकरण गरे पनि साना उद्योग तथा विद्युत्‌सम्बन्धी अन्य काम हुन सकेको थिएन । अब सुस्तामा उखु पेल्ने क्रसर लगायत साना कुटिर उद्योग पनि संचालन हुने आशा स्थानीयले गरेका छन् ।

वर्षौंदेखि नारायणी नदीमा जोखिम मोलेर डुंगाबाट आवतजावत गरेका स्थानीय पुल बनेपछि सहज रूपमा सदरमुकाम र पालिकाको केन्द्र आउन पाएका छन् भने पुलबाटै बिजुली पनि विस्तार हुने भएपछि थप हर्षित बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?