सुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल ४ मा अवस्थित होटल ओरियनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघले व्यवसायीहरुको समस्या पहिचान गरी समाधान गर्न तर्फ लाग्नुपर्ने बताए । निर्वाचित जनप्रतिनिधिहरु मात्र सरकार नभएर हामी सवै सरकार हो भन्ने भावना राखेर अगाडी बढेमा बल्ल विकास निर्माण हुने प्रदेशसभा सदस्य बस्नेतको भनाई छ ।
कोभिड १९ को वेलामा उद्योग वाणिज्य संघको भूमिका उल्लेखनिय रहेको बताउदै निजि क्षेत्रमा पनि यस्तै खट्न रहेमा सवै उद्योगी व्यवसायीका समस्या समाधान हुने उहाले बताए । दीर्घकालिन योजना बनाएर नीति नियम बमोजिम अगाडी बढ्न पनि उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा सुनवल नगरपालिका प्रमुख विमला अर्यालले उद्योग वाणिज्य संघ सुनवलले विभिन्न समयमा देखा परेका समस्याहरुमा सधै अग्रसर रहने गरेकोमा आगामी दिनमा पनि सुनवल निर्माणको परिकल्पना साकार पार्न पनि अग्रसर रहने विश्वास व्यक्त गरेको थिइन । सवैको सहकार्य र सहअस्तित्व रहने गरी सुनवलमा विकासको मोडल तयार गरीने पनि नगर प्रमुख अर्यालले बताइन ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगौति यादव, सुनवल नगरपालिका उपप्रमुख सुर्य दुवे, निर्वतमान नगर प्रमुख भिमबहादुर थापा भरत, लुम्विनी प्रदेश निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, जम्सेर मियाँ, केन्द्रिय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु,खानेपानी महासंघ लुम्विनी प्रदेश अध्यक्ष थानप्रसाद गैरे, नेकपा(माओवादी केन्द्र)नगर अध्यक्ष मोहन कार्की लगायतले व्यवसायीहरुलाई सरकारले हेर्ने दृष्टिकोण व्यवसायी मैत्री नरहेको बताए ।
हाल व्यवसायीहरु जटिल अवस्थामा रहेको वेला सरकारले उद्योग व्यवसाय मैत्री वातावरण बनाउन नसक्नु दुखद कुरा भएको भन्दै सरकारकै व्यवास्ताका कारण अवको दुई वर्ष भित्रै धेरै उद्योगहरु वन्द हुने अवस्था रहेको बताए ।
कार्यक्रममा अध्यक्ष कर्माचार्यले खुला सिमानाका कारण नेपाली व्यवसाय फस्टाउन नसकेकाले खुला सिमा नाका अझ कडाई गर्नुपर्ने भन्दै नगर क्षेत्र भित्र संचालन हुने हाटबजार पनि व्यवस्थित र अनुगमन हुनुपर्ने भनाई राखेका थिए । कार्यक्रम संचालक तथा महासचिव तेजप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन तथा भावि कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।