
बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरास्थित धान्याचल माध्यमिक विद्यालयले सोमबार ३८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरि मनाएको हो।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक सहयोग गर्ने बताइन्।
कार्यक्रममा विद्यालयका प्राचार्य सन्तकुमार यादवले करिब २ करोड ५५ लाख रुपैयाँ बराबरको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रवक्ता तथा वडा नं. १३ का अध्यक्ष कृष्णप्रसाद बगाले, सुनवल नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, बडेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन पन्त, लुम्बिनी साकोसका अध्यक्ष लेखनाथ खरेल, अक्षयकोषदाता तथा पूर्वप्रधानाध्यापक ऋषिराम भण्डारी, सहायक प्राचार्य सावित्री पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने अक्षयकोषदाताद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षिका सरिता पाण्डेले बताइन।
आजै सम्पन्न अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समितिका लागि दुई महिला र दुई पुरुष सदस्य सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाबाट शारदा गिरी, सरस्वती पौडेल, कमल न्यौपाने र विरेन्द्र तिवारी सर्वसम्मत चयन भएको शिक्षक राजाराम श्रेष्ठले जानकारी दिए।
चार जनाको बैठकले थप दुई जना सदस्य मनोनित गरी अध्यक्ष चयन गर्नेछ भने वडा कार्यालयबाट एक जना पदेन सदस्य रहने व्यवस्था रहेको छ। व्यवस्थापन समितिमा विद्यालय प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ।











