ट्रेन्डीङ्ग

चलिरहेका अनलाइनलाई पनि नियमित अभिमुखीकरण गरौँः मन्त्री शर्मा

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक÷सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ।मङ्गलबार प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिनुभएको हो।प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ ।

मन्त्री शर्माले आमसञ्चारसँग जोडिएको मुख्य मन्त्रालय भएको कारण सञ्चार मन्त्रालय भन्नु नै आमसञ्चार मन्त्रालय हो भन्ने बुझाइ रहने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपाललाई आवश्यक सबै सहयोग गर्न मन्त्रालय तयार रहेको भन्दै आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित जिम्मेवार बनाउन काउन्सिल थप सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

काउन्सिलले बनाउन लागेको प्रेस सङ्ग्रहालय समेतको अवलोकन गर्दै मन्त्री शर्माले सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचिन माध्यमहरूको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताउनुभयो । यसलाई पूर्णता दिन बजेट व्यवस्थापनका लागि मन्त्रालयले पहल गर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताउनुभयो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारक्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो।उहाँले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिल लगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ आगाडि बढाइने जानकारी दिनुभयो।

काउन्सिलका सदस्य सचिव शंकर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिको लागि सहयोग गर्न आग्रह गर्नुभयो।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराउनुभएको थियो । यस्तै उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal