ट्रेन्डीङ्ग

स्थानीय योजना सफल बनाउन पहल गर्छु : सांसद तामाङ

धादिङ।सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाउनुभएको छ।

आज निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै सांसद तामाङले स्थानीय योजनालाई सफल बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

‘हिजो संघीय सरकारले गर्ने गरेका ठुला ठुला योजना पनि प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ’ उहाँले भन्नुभयो,‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङबेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउछु’।

यसैबिच सांसद तामाङले चुनावका बेला भएको काँग्रेससँगको गठबन्धन काँग्रेसकै कारण तोड्नुपरेको बताउनुभएको छ।चुनाव अघि भएको सहमती अनुसार काँग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनुपरेको प्रष्ट पार्नुभयो।‘हिजो काँग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौँ तर जितेर गइसकेपछि सरकार बनाउनेक्रममा काँग्रेसले चुनावअघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौँ’ तामाङले भन्नुभयो।उहाँले संसदमा सबै दलले विस्वासको मत दिएर सरकार गठन भएकाले केन्द्रअनुसारको सहकार्य स्थानीय स्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई आग्रह समेत गर्नुभएको छ।

धादिङको फ्याक्सेमा ८ वर्षदेखि हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुँधाइ महोत्सव हुँदै आएको छ।यस वर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो।

कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्साल,मनराज भण्डारी,निलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा लगायतले बोल्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?