ट्रेन्डीङ्ग

जसपा सरकारमा जाने वा नजानेबारे ठोश निर्णय भएन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ । जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने बताए।

उनले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र सो निर्णय लिइने पनि स्पष्ट पारे । त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता सुमनले जानकारी दिए । उनले भने – ‘सरकारमा जाने, नजाने सम्बन्धमा पनि पार्टीका विचारहरु आउँदा सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरी र सरकारले गर्न थालेको शक्ति बाँडफाँटको विषयलाई ध्यानमा केन्द्रित राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन त जारी नै रहनेछ भन्ने हाम्रो निर्णय भयो । त्यस्तै विभिन्न राजनीतिक दल संगठन र क्रियाशिल अन्य राजनीतिक शक्तिहरु सँग वार्ता,संवाद,छलफल गर्नको लागि पार्टीका सहअध्यक्ष,केन्द्रिय कार्यकारिणी समितिका सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति बनायौँ । सो समितिमा राजेन्द्र श्रेष्ठ संयोजक, रकम चेमजोङ सदस्य र गोविन्द चौधरी सदस्य । त्यस्तै माघ मसान्तभित्र पार्टीले आफ्ना सबै निष्क्रिय संगठनहरुलाई क्रियाशिल बनाउने छ।’

बैठकले माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय पनि गरेको छ । गत निर्वाचनमा अन्तर्घात गर्र्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन् । जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ ।

जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ,सुशिला श्रेष्ठ,शिवलाल थापा मगर लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?