ट्रेन्डीङ्ग

पार्टी छोड्दिन तर पार्टी सच्चिनुपर्छ:एमाले नेता पोखरेल

परासी।नेकपा एमालेका केन्द्रीय सल्लाहकार खिमलाल पोखरेलले पार्टीमा वेथिती बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।ईमान्दार कार्यकर्तालाई पाखा लगाउँदै उहाँले एमालेमा योगदान नै नगरेका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाईएकोमा आश्चर्य व्यक्त गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका सहयात्री समेत रहनुभएका एमाले नेता पोखरेलले आज पश्चिम नवलपरासीको सरावल वासामा पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वलाई सच्चिन आग्रह गर्नुभयो ।

पोखरेलको नाम समानुपातिक सांसदको सूचीमा नपरेपछि एमालेका स्थानीय कार्यकर्ताले केही दिन अघि सामूहिक विज्ञप्ति जारी गर्दै विरोध वनाएका थिए।पोखरेलले कार्यकर्ताबाट आफूप्रति देखाईएको स्नेह र सदासयताप्रति आभार व्यक्त गर्नुभएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको समानुपातिक तर्फको सूचीमा खसआर्य तर्फ ५ नम्बरमा पोखरेलको नाम रहेपनि अन्तिम समयमा समानुपातिक सांसदको सूचीबाट आफ्नो नाम हटाईएपछि नेता पोखरेलले असन्तुष्टि जनाउँदै पार्टीले ईमान्दार कार्यकर्ताको मूल्यांकन गर्न नसकेको गुनासो गर्नुभयो।

वि.स.२०२३ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध ज्येष्ठ सदस्य पोखरेलको पार्टी सदस्यता नं. ११९ हो।

समानुपातिकतर्फ सबैभन्दा बढी भोट पाई ३४ सिट पाएको एमालेबाट सिट बाँडफाँड गर्दा खस आर्यमा ११, आदिवासी जनजातिमा १०,मधेसी ५,दलित ५,थारु २ मुस्लिमतर्फ एक सिट परेको थियो।समग्रमा ३३ प्रतिशत महिला छनौट गर्दा खस आर्यतर्फ एमालेले ६ महिला र ५ पुरुष छनौट गर्न सक्ने प्रावधान थियो।३३ प्रतिशत महिला पुर्याउन समानुपातिकबाट १९ जना महिला पठाउनुपर्नेमा एमालेको सचिवालय बैठकले २२ जना महिला पठाई खस आर्य तर्फका पुरुषलाई अन्य गरेको र जानीजानी उक्त सूचीबाट आफ्नो नाम हटाईएको नेता पोखरेलको दाबी छ।सन १९६६ मे ५ मा भारतमा प्रवासी नेपाली संघ गठन हुँदा पोखरेल त्यसको संस्थापक सदस्य हुनुहुन्थ्यो।

पार्टीले दिएको जिम्मेवारी ईमान्दारितापूर्वक निर्वाह गर्दै आएको र हालसम्म कुनै पनि लाभको पदमा नबसेको र नमागेको उहाँले बताउनुभयो।तर समानुपातिक सूचीमा राखेर अन्तिम समयमा नाम काटिएको भन्दै नेता पोखरेलले आफूप्रति पार्टीले गरेको व्यवहारबाट स्तब्ध भएको बताउनुभयो।उहाँले पार्टी भित्र देखिएके गलत प्रवृत्ति र वेथिती समयमा सच्याउन पार्टीका शीर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ।

पार्टीले आफ्नो योगदानको मूल्यांकन नगरेपनि नेकपा एमाले भने नछाड्ने पोखरेलले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?