ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीको क्षेत्र २ मा थ्रीडिको प्रतिस्पर्धा

परासी।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा उम्मेदवार घरदैलो सहित मत माग्ने काममा व्यस्त छन।

मङ्सिर ४ नजिकिनै लाग्दा क्षेत्र नं २ को चुनावी रौनक अझै तातेको छ।यस क्षेत्रमा नेपाली कांग्रेस,नेकपा एमाले,राप्रपासहितका दलबाट १० तथा स्वतन्त्र आठ गरी १८ जनाको उम्मेदवारी परेको छ।

पश्चिम नवलपरासी क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल,जनता समाजवादी पार्टी(जसपा)को समर्थनमा नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएका दीपेन्द्र अधिकारी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधानबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यो निर्वाचन क्षेत्रमा रामग्राम नगरपालिका,सुनवल नगरपालिका,पाल्हीनन्दन गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिकाको तीन वटा वडा रहेका छन।गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका थिए भने अन्य पालिका प्रमुख तथा अध्यक्षमा नेकपा(एमाले)का उम्मेदवार निर्वाचित भएका थिए।नवलपरासी २ मा जम्मा एक लाख २२ हजार छ सय ८० मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले जानकारी दिनुभयो।

नेपाली कांग्रेसका उम्मेदवार कँडेल यस क्षेत्रबाट छैठौँपटक संसदीय निर्वाचनको दौडमा हुनुहुन्छ।वि.सं २०५१ देखि २०७४ सम्म भएका पाँचवटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा कँडेल विजयी हुनुभएको छ।तीन दशकयता निरन्तर चुनाव लड्दै आउनुभएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ।कँडेल २०५६ र २०५८ सालमा दुई पटक गृहराज्यमन्त्री बन्नुभएको थियो।

वि.सं २०५१ मा तत्कालिन सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद् यात्रा सुरू गर्नुभएका कँडेल त्यसपछिका निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ। २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधानलाई पराजित गर्नुभएको थियो।वि.सं २०६४ मा साविक नवलपरासीको क्षेत्र नम्बर ५ बाट उम्मेदार बन्नुभएका उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका रामवचन चौधरीसँग पराजित हुनुभयो।वि.सं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी-४ बाट उम्मेदवार बन्नुभएका कँडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित हुनुभयो।

वि.सं २०७४ मा उहाँले तत्कालीन वामगठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई पराजित गरेर पुनःसंसद भवन प्रवेश गर्नुभएको थियो।यहाँ एमालेले जसपा र राप्रपाले लोसपासँग तालमेल गरेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार यहाँ अन्य दलको तुलनामा कांग्रेस बलियो देखिएको छ।यस क्षेत्रमा पर्ने पालिकामा वडाध्यक्षले पाएको मतभार अनुसार नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत २५ हजार छ सय ८६ हुन रहेको छ।माओवादी केन्द्रको नौ हजार एक सय ५१, नेकपा(एकीकृत समाजवादी)को आठ सय ८५ र राष्ट्रिय जनमोर्चाको ८५ गरी सत्ता गठबन्धनको मत ३५ हजार आठ सय नौ देखिन्छ।

यहाँ एमालेका वडाध्यक्षले पाएको मत २३ हजार तीन सय ४२ तथा जसपाका वडाध्यक्षले पाएको मत सात हजार तीन सय १३ रहेको छ। त्यसैगरी,राप्रपाका वडाध्यक्षले आठ हजार आठ सय ७७ तथा लोसपाका वडाध्यक्षले चार हजार पाँच सय ८० मत प्राप्त गरेका छन।वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा यहाँ कांग्रेसका उम्मेदवारको मत एमाले-जसपाको तालमेल भन्दा पाँच हजार एक सय ५४ ले बढी तथा राप्रपा-लोसपाको तालमेल भन्दा झण्डै तीन गुणाले बढी छ।

यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका एमालेका अधिकारी पार्टीका जिल्ला अध्यक्ष एवं निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्छ। नवलपरासीबाट यसअघि तीन पटकसम्म चुनाव लडेर पराजित हुनुभएका प्रधान राप्रपाका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal