
काठमाडौँ।निर्वाचन आयोगले मत सर्वेक्षण गर्न नपाइने जनाएको छ। आचारसंहिताविपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरेर मत सर्वेक्षण गरेको र त्यसको नतिजा सार्वजनिक गरेको भन्दै आयोगले त्यसो गर्न नपाइने जनाएको हो।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न,प्रचारप्रसार गर्न,कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको आयोगको भनाइ छ।
कसैले आचारसंहिताविपरीत काम गरे कानुनबमोजिम कारबाही हुने पनि आयोगले जनाएको छ।