
सायल(२)
कयौं यातना भोगेकी छ उसले
ऊ अर्थात-सायल ।
कहिले मसि, कहिले आवाज, कहिले हतियार
उसका विद्रोह गर्ने साधन ।
न्यायको आन्दोलनमा लड्दालड्दै
कयौं पटक ढलेकी छे ऊ,
चर्को घाममा राजधानीका गल्ली गल्ली हिड्दै
पुग्छे ऊ पिडितका स्वरमा स्वर मिलाउन ।
कहिले डण्डाका निल्डाम,
कहिले धम्की,
कहिले गिरफ्तारी,
खुबै भोगेकी छे उसले ।
चोक-चोकमा नारा घन्क्याउदै
आन्दोलनमा चिच्याउदै हिडिरहेकी ऊ
झरीमा भिज्दै
हज्जारौं जंघार तरेकी ऊ
कहिले २/४ मान्छे जम्मा गरेर
मार्क्स, एङ्गेल्स र माओका कुरा गर्छे
कहिले रोजा, जेनी र फूलनका
कहिले अक्टोबर क्रान्ति त
कहिले क्युबाली क्रान्तिका कुरा गर्छे ।
आफ्नै श्रममा बाँचेकी स्वाभिमानी योद्धा ऊ
कहिले अर्थ त कहिले राजनीतिका कुरा गर्छे।
अचम्मकी मान्छे छे ऊ
आफू अन्यायमा पर्दापर्दै पनि
अर्काको न्यायको कुरा गर्छे ।
सडकमा चिच्याउँदा चिच्याउँदै
उसको स्वर सुक्दै जाने छ
अस्ताउने छे एकदिन
बिस्तारै ओझेल पर्ने छे
तर, थाहा छ मलाई
ऊ कहिल्यै नमेटिने इतिहास बन्ने छे
ऊ अर्थात – सायल ।
✍️साया किरण