ट्रेन्डीङ्ग

स्थानीय निर्वाचन: ४ पत्रकार पराजित

परासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए ।

चुनाव पराजित हुनेमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–३ बाट एमालेबाट उम्मेदवारी दिएका मेघराज गौतम रहनु भएको छ । उहाँ राप्रपाका उम्मेदवारसँग पराजित हुनु भएको थियो ।

पाल्हीनन्दन गाउँपालिका–२ बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनु भएका ध्रुब नारायण बाँनिया र सोही वडाबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिनु भएका जितेन्द्र गुप्ता पराजित हुनु भएको थियो।

बाँनिया लोसपाका उम्मेदवारसँग पराजित हुनु भएको हो । गुप्ताले तेस्रो स्थान प्राप्त गर्नुभयो ।

यसैबीच पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकाबाट नेपाली कांग्रेसबाट अध्यक्षमा चुनाव लड्नु भएका खड्क बहादुर राना (केबी ) एमालेका उम्मेदवारसँग पराजित हुनु भएको हो ।

निष्पक्ष र स्वच्छ पत्रकारिताका लागि चुनाव लड्ने पत्रकारलाई पत्रकार महासंघले स्वैच्छिक राजीनामा दिन आग्रह गरेको थियो । केही जिल्लामा राजीनामा दिएपनि पश्चिम नवलपरासीका पत्रकारले भने दिएका थिएनन् ।

पूर्वी नवलपरासीका रानाले लिखित नदिए पनि राजीनामा दिएको घोषणा गरेको महासंघका जिल्ला उपाध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो । महासंघको परिपत्रअनुसार चुनाव लड्ने पत्रकारको सदस्यता नरहने जिल्ला शाखाहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?