ट्रेन्डीङ्ग

नारि दिवसमा वक्तृत्वकला प्रतियोगिता

तोलाकान्त बगाले,२४ फागुन,वालिङ ।

११२ औं अन्तर्राष्ट्रिय नारि दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको पहुँच अभिवृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

नगरभित्रका सामुदायिक र संस्थागत गरी सात विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम साईनभिलेल बोर्डिङ स्कूल वालिङकी छात्रा आस्था पराजुली हुनुभएको छ । त्यस्तै द्वितीय सगरमाथा बोर्डिङ स्कूलकी छात्रा स्नेहा पाण्डे र तृतीय राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा नम्रता कोईराला हुनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । महिलाहरुको नेतृत्व विकास, बौद्धिक क्षमता विकासकालागि यसप्रकारका प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिंदै जानुपर्ने उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । समाजमा चेतनाको सन्देश फैलाउनकालागि विद्यार्थीहरुको भूमिका महत्वपूणर् हुने भएकाले उनीहरुलाई सहभागी बनाएर अगाडि बढिएको पनि उहाँले बताउनुभयो ।

“महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर होईन उहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ” उहाँले भन्नुभयो, “महिलाहरुको हक अधिकार र अवसलाई सही सदुपयोग गर्न पनि महिला दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।”

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डे, वडा नं. ६ की वडा सदस्य चीनमाया नेपाली, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, शिक्षिका भोजकुमारी पाण्डेलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

वालिङ नगरपालिकाका कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक यूगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख अनुषा काफ्लेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?