ट्रेन्डीङ्ग

रवीन्द्र मिश्र प्रकरण: राप्रपा नेतृत्वको परीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हाल गम्भीर राजनीतिक र नैतिक संकटको संघारमा उभिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष र जनभावनाका प्रबल प्रतिनिधि रवीन्द्र मिश्रको थुनाबन्दीको घटनाले मात्र होइन, त्यसप्रति पार्टी नेतृत्वले देखाएको निष्क्रियता र मौनताले पनि संगठनभित्र र बाहिर गहिरो असन्तोष जन्माएको छ।

जब शीर्ष तहका नेतामाथि अन्याय हुँदा समेत पार्टीले स्पष्ट र प्रभावकारी कदम चाल्न सक्दैन, तब सर्वसाधारण कार्यकर्ता र समर्थकका लागि न्याय र संरक्षणको आशा गर्ने आधार कमजोर पर्छ। मिश्रजस्तो निष्ठावान र परिवर्तनशील व्यक्तित्वलाई चुपचाप थुनिन दिनु र उसको पक्षमा ठोस र बुलन्द आवाज नउठाउनु स्वयं पार्टीको नैतिक धरातलमा गम्भीर प्रश्न चिन्ह बनेको छ।

राप्रपाले विगतमा जनताको भावना समेट्ने र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढ भूमिका खेल्ने विश्वास दिलाएको थियो। तर अहिले, रवीन्द्र मिश्रजस्तो व्यक्तित्वका लागि पनि निर्णायक हस्तक्षेप गर्न नसक्नुले पार्टीको पहिचान, प्रतिबद्धता र जनविश्वासमाथि ठूलो चोट पुर्याएको छ। पार्टीभित्र पनि निराशा फैलिन थालेको छ; नेतृत्वप्रति प्रश्न र असन्तोष बढ्दो छ। कार्यकर्ताहरुभित्रको ऊर्जा खस्कन थालेको संकेत खुलेर देखिन थालेको छ।

यथास्थितिमा रमाउँदा र गम्भीर संकटको घडीमा संयन्त्रगत औपचारिकतामा सीमित हुँदा कुनै पनि आन्दोलनको आधार क्षीण हुन्छ। आन्दोलन केवल नाराबाट होइन, भावनात्मक आस्था र बलिदानीको आधारमा टिक्छ। यदि आम कार्यकर्ताले र नेतृत्वबीच भावनात्मक सेतु हरायो भने, आन्दोलनहरू केवल औपचारिकताको निराशाजनक प्रदर्शनमा परिणत हुन्छन्।

तर अझै समय छ। राप्रपाले मिश्र प्रकरणलाई केवल एउटा कठिनाइ नभई, आफ्नो संगठनलाई सच्याउने र जनविश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा लिन सक्दछ। यसका लागि पहिलो आवश्यकता हो — पार्टीले मिश्रको थुनामुक्तिका लागि खुला, बुलन्द र निर्णायक पहल गर्नु। मात्र कानुनी प्रक्रियामा सीमित नरही, राजनीतिक र नैतिक धरातलमा पनि सशक्त आवाज उठाउनु अपरिहार्य छ।

त्यस्तै, भित्रि संगठनलाई सबल बनाउन सशक्त संवाद सुरु गर्नुपर्छ। असन्तुष्ट कार्यकर्तालाई विश्वासमा ल्याउँदै पारदर्शी र समावेशी निर्णय प्रक्रियाबाट संगठनभित्र एकता र ऊर्जा फर्काउनु जरुरी छ। जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै, राप्रपाले आफू अन्याय र दमनविरुद्ध दृढतापूर्वक उभिएको सन्देश दिनु अत्यावश्यक भइसकेको छ।

यसका साथै, दीर्घकालीन दृष्टिकोण पनि अवलम्बन गर्नुपर्छ। केवल प्रतिक्रियावादी भावनामा अल्झिनु होइन, स्वतन्त्रता, राष्ट्रियता र जनस्वाभिमानका दीर्घकालीन मुद्दाहरू उठाउँदै गहन आन्दोलनको स्पष्ट खाका तयार पार्नुपर्छ। यसरी मात्र राप्रपाले आफ्नो गुमाउँदै गएको राजनीतिक ऊर्जालाई फेरि पुनर्जीवित गर्न सक्छ।

रवीन्द्र मिश्रको मुक्ति मात्र कुनै एक व्यक्तिको सवाल होइन — यो राप्रपाको अस्तित्व, नेतृत्वको मूल्य र नेपाली राजनीतिमा नैतिकताको पुनर्स्थापनाको प्रश्न हो। यो संकटसँग जुध्न र पार लगाउन सकिन्छ, यदि नेतृत्वले साहस देखायो भने, यदि पार्टीले आत्मसमीक्षा र आत्मपरिष्कारको बाटो समात्यो भने।

यो घडी नेतृत्वको परीक्षा हो — न केवल राजनीति चलाउन, तर जनताको भरोसा जित्न सक्ने नेतृत्व हुन सक्ने कि सक्दैन भन्ने। राप्रपाले यदि समयमै सही निर्णय लिएन भने, इतिहासले यसको चुकलाई क्षमा गर्ने छैन। तर यदि सही कदम चाल्न सके, मिश्रको मुद्दालाई परिवर्तनको प्रेरणामा रूपान्तरण गर्न सके, भने राप्रपाले फेरि एकपटक जनताको हृदयमा स्थान बनाउन सक्छ l

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?